२८ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीमा सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु



असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ

काठमाडौँ
वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा आज बेलुकीदेखि सुरु भएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट सुरु हुने सेतो मच्छेन्द्रनाथ रथयात्रामा हजारौँको सहभागिता जुटेको छ ।

रथयात्राका लागि दिउँसो करिब ४ः०० बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिएको थियो । बेलुकी त्यही रथमा राखी यात्रा सुरु गरिएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ । पहिलो दिन आज रथ असन पुर्याइएको छ । रथ असन पुगेपछि पूजा, आराधना गर्ने भक्तजनको घुइँचो लागेको छ । असनमा रातभर सेतो मच्छेन्द्रनाथको पूजाआराधना गर्ने नियम रहिआएको छ ।

सहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ । रथ निर्माणका लागि काठलगायत व्यवस्था गुठी संस्थानले गर्ने परम्परा छ । अष्टमीका दिन आज कुमारीलाई पनि तीनधारा पाठशाला परिसरमा लगेर रथयात्रा सुरु गरिएको सेतो मच्छेन्द्रनाथका पुजारी, समितिका संयोजक र काठमाडौँ महानगरपालिका–२५ का पूर्वअध्यक्षसमेत रहेका नीलकाजी शाक्यले राससलाई जानकारी दिएका छन् ।

राष्ट्रपतिले दर्शन गर्ने

असनमा आज राति राष्ट्रपति रामचन्द्र पौडेलले रथको दर्शन गरी प्रसाद ग्रहण गर्नुहुने कार्यक्रम छ । सेतो मच्छेन्द्रनाथको रथ तानेर असन ल्याएको राति राष्ट्राध्यक्षले असनमै पुगेर पूजा आराधना एवं दर्शन गरी प्रसाद ग्रहण गर्ने परम्परा छ ।

तीनधारा पाठशालाअघि ३२ हात लामो रथ बनाएर चैतेदसैँका दिनदेखि तान्ने गरिएको छ । यो रथलाई नागराजको प्रतीक मानिन्छ । प्रत्येक वर्ष यो जात्रा गरेपछि वर्षा र सह हुने धार्मिक विश्वास छ । रथ दोस्रो दिन असनबाट वसन्तपुरस्थित कालभैरवअघि लगिन्छ । तेस्रो दिन वसन्तपुरबाट लगन लगेर जात्रा गर्ने परम्परा छ । लगनमा सेतो मच्छेन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक घुमाउने गरिन्छ । राजधानीमा सेतो मच्छेन्द्रनाथको रथयात्रा सकेपछि रातो मच्छेन्द्रनाथको रथयात्रा सुरु हुने प्राचीनकालदेखिको परम्परा छ ।

प्रकाशित मिति : २३ चैत्र २०८१, आइतबार  १२ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।