काठमाडौं
चलचित्र अञ्जिला’कोे गीत ‘यो देशको झण्डा’लाई ‘स्पोट्र्स एन्थम’को रुपमा गुञ्जाउन निर्देशक मिलन चाम्सले अनुरोध गरेका छन् ।
भर्खरै सार्वजनिक भएको यो गीत निर्देशक मिलन चाम्सले खेलकुद क्षेत्रमा विशेष हुने विश्वास व्यक्त गरे । उनले भने, “यो गीत खेलकुद क्षेत्रको लागि एकदमै विशेष छ । अबदेखि हरेक खेल हुँदा स्टेडियममा यो गीत गुन्जिनुपर्छ । यो नेपालको लागि ‘स्पोट्र्स एन्थम’ हो । एन्फाले नै यो गीतलाई ‘स्पोट्र्स एन्थम’को लागि पहल गर्नुपर्छ ।”
यो निकै ऊर्जाशील गीत भएको यसले राष्ट्र बोकेको, खेलाडी बोकेको र खेलकुद बोकेकोले ‘स्पोट्र्स एन्थम’ हुने निर्देशक चाम्ले तर्क गरेका छन् ।
सोमवार सार्वजनिक गरिएको यो गीतलाई लोकराज अधिकारीले लेखेका हुन् भने सङ्गीत हरि लम्सालको रहेको छ । गायिका बबिना किराँतीको स्वरमा रहेको गीतलाई निकै ऊर्जाशील र प्रेरणादायी मानिएको छ ।
गत फागुन २९ गते फागु पूर्णिमाको अवसर पारेर प्रदर्शनमा आएको चलचित्र ‘अञ्जिला’ चौथो सातामा चलिरहेको छ ।
यो चलचित्र नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवन कथामा आधारित छ । एन्जिला आफैँले चलचित्रमा मुख्य भूमिका निर्वाह गरेकी छिन् । बाल्यकालदेखि लिएर व्यावसायिक खेल जीवनसम्मको उनको सङ्घर्ष र सफलताको कथा चलचित्रमा प्रस्तुत गरिएको छ ।
हालै एन्जिला केही समयको लागि नेपाल आएकी थिइन् र देशभरका दर्शकसँग प्रत्यक्ष भेटघाट गरेकी थिइन् । उनी ग्रिसको शीर्ष डिभिजन महिला फुटबल लिगमा निस एट्रोमिटौ क्लबबाट खेलिरहेकी छिन् र हाल पुनः ग्रिस फर्किएकी छिन् ।
‘अञ्जिला’ चलचित्रमा एन्जिला तुम्बापोसँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
प्रतिक्रिया