आज रथ लगन पुगेसँगै दर्शन एवं पूजा, आराधना गर्न भक्तजनको घुइँचो लागेको छ
काठमाडौँ
वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथ आज लगन पु¥याइएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट सुरु हुने वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा तेस्रो दिन हनुमानढोकाबाट तानेर लगन पु¥याउने गरिन्छ । आज रथ लगन पुगेसँगै दर्शन एवं पूजा, आराधना गर्न भक्तजनको घुइँचो लागेको छ ।
रथ लगन पु¥याए पनि साँझ परेकाले आज सेतो मच्छेन्द्रनाथलाई माताको मन्दिरमा भने घुमाउन नभ्याइएको सेतो मच्छेन्द्रनाथका पुजारी समितिका संयोजक एवं काठमाडौँ महानगरपालिका–२५ का पूर्ववडाध्यक्ष नीलकाजी शाक्यले जानकारी दिएका छन् । लगनमा सेतो मच्छेन्द्रनाथको माताको मन्दिर छ ।
रथयात्राको तेस्रो दिन आज हनुमानढोका दरबार क्षेत्रबाट रथ तानेर लगनसम्म लगिएको हो । तेस्रो दिन चिकमुँगल, जैसीदेवल, ज्याबहाल हुँदै लगन लगिने गरी मार्ग निर्धारण गरिएको छ ।
रथयात्रा पहिलो दिन असन र दोस्रो दिन अर्थात् रामनवमीका दिन हनुमानढोका दरबार क्षेत्रमा पु¥याउने गरिन्छ । रथयात्रामा हजारौँको सहभागिता जुटेको छ । रथयात्राका लागि शनिबार दिउँसो ४ बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशाला अघि लगिएको थियो । बेलुकी त्यही रथमा राखी यात्रा सुरु गरिएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ । अष्टमीका दिन शनिबार कुमारीलाई पनि तीनधारा पाठशाला परिसरमा लगेर रथयात्रा सुरु गरिएको थियो ।
सहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा सञ्चालन हुन्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनःरथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ । रथ निर्माणका लागि काठलगायत व्यवस्था गुठी संस्थानले गर्ने परम्परा छ ।
मङ्गलबार लगनमा माताको मन्दिर दुईपटक घुमाएर मच्छेन्द्रबहालमा ल्याएसँगै जात्रा समापन हुन्छ । काठमाडौँमा सेतो मच्छेन्द्रनाथको रथ यात्रापछि ललितपुरमा रातो मच्छेन्द्रनाथको रथयात्रा हुने गरेको छ ।
प्रतिक्रिया