काठमाडौं
नेपाली चलचित्र क्षेत्रका उदयमान निर्देशक हुन् सौरभ चौधरी । चलचित्र ‘अगस्त्य’बाट चलचित्र क्षेत्रमा छाप छोडेका चौधरीको चलचित्र कर्मा शुक्रबारबाट प्रर्दशन हुँदैछ ।
चलचित्र ‘अगस्त्य’बाट निर्देशक चौधरीले एक्सन चलचित्रको क्षेत्रमा तरंग ल्याएका थिए । उनको सो चलचित्रले समिक्षकहरुबाट राम्रो प्रशसा पाएको थियो ।
नेपाली चलचित्र क्षेत्रमा एक्सन चलचित्रको परिभाषा नै बदल्ने गरेर अघि बढेका निर्देशक चलचित्र क्षेत्रमा एक्सनको प्रयोगलाई लिएर सन्तुष्ट छैनन ।
नेपाली चलचित्रमा मुस्किलले तीनदेखि चारवटा एक्सन सिक्वेन्स हुने र त्यसैलाई चलचित्र भनेर भन्ने गरिएको निर्देशक सौरभ चौधरी बताउछन् ।
“कुनै चलचित्रमा एक्सन सिक्वेन्स छ । तर, समग्रमा त्यो चलचित्रलाई इमोसनले ड्राइभ गरेको छ भने त्यो चलचित्रलाई एक्सन भन्ने कि सोसल ड्रामा ?,” उनको प्रश्न छ । एक्सन चलचित्र भन्ने हो भने त्यसमा एक्सनको सिक्वेन्स पनि त्यहीअनुसार हुनुपर्नेमा उनको जोड छ ।
साढे दुई घण्टाको चलचित्रमा २० मिनेट फाइटको सिन भए त्यसलाई एक्सन चलचित्र भन्ने कि नभन्ने बहसको विषय भएको उनको तर्क छ ।
नेपाली चलचित्रका सफल अभिनेता विपिन कार्की पहिलोपटक एक्सन चलचित्र ‘कर्मा’मा सोलो हिरोका रुपमा देखिँदैछन् । ‘कर्मा’मा उनी पहिलोपटक एक्सन भूमिकामा देखिन लागेका हुन् ।
उनी लामो समयदेखि सामाजिक कथा(सोसल ड्रामा)मा काम गर्दै थिए । पहिलोपटक एक्सनमा काम गर्न कसरी तयार भएका विपिन निर्देशक सौरभ चौधरीको पहिलो अफर स्वीकार गरेका थिए ।
नयाँ नयाँ विधाका कथामा काम गर्न रुचाउने विपीनले एक्सनमा काम गर्न सहजै तयार हुँदै तौल घटाउने, जिम जानेसम्म गरे ।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रमा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरी, दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ ।
‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन विधा(जनरा)मा निर्माण भएको छ । वसन्त लम्सालको लगानी रहेको ‘कर्मा’ मा सञ्जय लामाको छायांकन, उत्तम न्यौपानेको ब्याकग्राउन्ड स्कोर र साउन्ड डिजाइन छ ।
प्रतिक्रिया