काठमाडौँ
रुद्रमानको जार कायल भएपछि गोर्खाराजको हुमुम मुवाविक अघि बढ्ने प्रतिबद्धता र दुई जारको द्वन्द्वमा आधारित चलचित्र ‘जार’को ट्रेलर आज सार्वजनिक गरिएको छ ।
ट्रेलरमा सौगात मल्ल, अनुपविक्रम शाही र गिताञ्जली थापाबीचको अन्तरसंर्घष देखाइएको छ । साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘जार’ को ट्रेलर पछिल्लो पुस्ताले हेरिरहेको चलचित्रको भन्दा केही फरक भेटिएको छ ।
ट्रेलरमा गिताञ्जली थापाको भावुक संवादले चलचित्र गम्भिर विषयमा निर्माण गरिएको संकेत मिल्छ । ‘हामी कसैको पनि आफूले चाहेको जस्तो जीवन हातमा हुँदैन रहेछ । कता कताबाट कसै कसैले विगारि दिदो रहेछ । अरुले घरि घरि विगार्दै लगेर विर्गादा विगार्दा अन्तमा जीवन बन्छ । जीवन त्यही रहेछ’ भन्ने संवादले महिलाहरुको कठीन जीवन भोगाईको चित्रण गरिएको छ । चलचित्र ‘जार’ को ट्रेलरमा नेपाली समाजभित्र रहेको संस्कार र संस्कृतीको प्रतिविम्ब भेट्न सकिन्छ ।
चलचित्रमा फरक दृश्यभाषा संवादशैली र कथा भन्ने तरिकाबाट चलचित्रमा मिठास भेटिनसक्ने आकलन गर्न सकिन्छ । इतिहासको एउटा कालखण्डमा नेपालीहरुको संस्कार(कु) र संस्कृतीको पर्यायजस्तै बनेको चालचलनलाई उसै कालखण्ड बुझाउने गरि चलचित्रको निर्माण गरिएको ट्रेलर हेरेपछि प्रतित हुन्छ ।
आज ललितपुरको पुल्चोकस्थित एक चलचित्र भवनमा औपचारिक कार्यक्रम आयोजना गरेर सार्वजनिक गरिएको ट्रेलर निर्देशक फुर्वाछिरिङ लामाले साहित्यकार राईको कथाअनुसार चलचित्र तयार गरिएको र चलचित्रको भावानुसार केही परिवर्तन समेत गरिएको बताएका छन् ।
उनले कथा पढेका पाठकको भावनालाई ध्यानमा राखेर चलचित्र तयार गरेको र पात्रलाई कलाकारले जीवन्त बनाउन मेहनत गरेको बकै गरे ।
चलचित्र निर्माणका लागि करिब चार वर्ष लागेको निर्देशक लामाले बताएका छन् । भारतको सिक्किममा छायाङ्कन गरिएको सो चलचित्रको सरवानन इलावार्सुले छायाङ्कन, अखिलेश राईले सम्पादन तथा झुमा लिम्बू र गङ्गा थापाले सङ्गीत सृजना गरेका छन् ।
सन् १८०० को दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित चलचित्रमा काम गर्ने आफ्नो सपना पूरा भएको अभिनेता मल्लले बताएका छन् । उनले भने, “मलाई यो पढेदेखि मन परेको कथा हो । यसमा रहेका विभिन्न पात्रमा आफूलाई कल्पना गर्थे । यसमा जोडिएर काम गर्न पाएँ, आफ्नो पात्रलाई जीवन्त बनाएको छु ।” उनले यस किसिमको चलचित्र समाजको एउटा समयलाई डिजिटल रूपमा सङ्ग्रहित गरेको बताएका छन् ।
अभिनेता शाहीले यो चलचित्रमा काम गर्नुअगाडि कथाकार राईको कथा पढेर पात्रलाई तयार गरेको बताए । “मैले कलाकारिताको यात्रामा सबैभन्दा बढी मेहनत गरेको पात्र यही हो । किनकि यसमा मैले आफ्नो व्यक्तित्वलाई परिवर्तन गर्नाका साथै लवजमा समेत काम गरेको छु । यो मैले अभिनयका लागि सम्झिने चलचित्र बनेको छ”, उनले भने ।
वैशाख २६ गतेबाट चलचित्र जार प्रदर्शन गर्ने योजना रहेको निर्माण पक्षले जानकारी दिएको छ ।
यस चलचित्रलाई प्रदर्शनका लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्ने उक्त कार्यक्रममा निर्माण पक्षले जानकारी गराएको छ ।
प्रतिक्रिया