काठमाडौँ
आज २०८२ को पहिलो दिन चलचित्रकर्मीले सात चलचित्र निर्माण र तीन प्रदर्शनको घोषणा गरेका छन् ।
आज प्रदर्शनरत नेपाली चलचित्र हेर्ने दर्शकको उपस्थिति हलमा बाक्लो थियो । सोही अवसरमा चलचित्र निर्माता तथा निर्देशकले तीन चलचित्रको प्रदर्शन मिति र सातको निर्माण घोषणा गरेका हुन् ।
यो क्षेत्रका लागि नयाँ वर्षको शुभ साइत पारेर आज विसं २०८० को सफल चलचित्र ‘जारी’ को दोस्रो शृङ्खला बन्ने घोषणा गरिएको छ । यसै वर्षको दसैँमा प्रदर्शन हुने उक्त चलचित्रको छायाङ्कन यही वैशाख तेस्रो सातादेखि सुरु हुने निर्देशक एवं लेखक उपेन्द्र सुब्बाले बताएका छन् ।
निर्देशक सुव्वाले भने, “जारीकै कथालाई निरन्तरता दिएर यसको दोस्रो शृङ्खला तयार गर्दैछौँ । नयाँ परिवेश र पुरानै जोडीको कथालाई दर्शकले हेर्न पाउनु हुनेछ । पहिलो चलचित्रमार्फत दर्शकको अपेक्षालाई पूरा गर्नेछौँ ।”
पाँचथर आसपास क्षेत्रबाट छायाङ्कन थालिने ‘जारी २’ मा अभिनेता दयाहाङ राई, विजय बराल, मिरुना मगर, ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बुलगायत कलाकारले अभिनय गर्नेछन् ।
याम शेर्पाले निर्देशन गर्ने ‘मिरमिरे’, ओमप्रतीक गुरुङले निर्देशन गर्ने ‘ढुकढुकी’, सुनिल निउरेले निर्देशन गर्ने ‘पुष्पलता’, विकास सुवेदीले निर्देशन गर्ने तथा अभिनेता पल शाहले निर्माण गर्ने ‘यानीमाया’, काजी लिम्बूको लेखन रहेको चलचित्र ‘जदौ’ को निर्माण हुने घोषणा गरिएको छ । नयाँ वर्षलाई लक्षित गर्दै निर्माण घोषणा गरिए पनि ‘जारी २’ बाहेक अन्यले छायाङ्कन हुने समय, कलाकार र प्राविधिकको विवरण सार्वजनिक गरेका छैनन् ।
नयाँ वर्षमा चलचित्र भवनमा उपस्थित दर्शकको ध्यान आकर्षित गराउन सकिन्छ भनेर निर्माता तथा निर्देशकले नयाँ चलचित्र निर्माणको घोषणा गरेका हुनसक्ने निर्देशक पुर्नेन्दु झाले बताएका छन् ।
“नेपाली निर्माता तथा निर्देशक चाडपर्वको अवसर पारेर निर्माण घोषणा गरिरहेका हुन्छन् । यही कारण वैशाख १ गते यतिधेरै चलचित्रका बारेमा जानकारी सार्वजनिक गरिएको हुनसक्छ । यस घोषणाले यो वर्ष चलचित्रकर्मीले ठूलो आशा लिएको प्रस्ट हुन्छ । चलचित्र निर्माणको सङ्ख्या पनि बढ्ने अपेक्षा लिएका छौँ” उनले भने ।
साथै आजै चलचित्र ‘डबल ट्रिपल’, ‘पहाड’ र ‘सिटामोल’ को प्रदर्शन मिति घोषणा गरिएको छ । अशोक शर्माको निर्देशनमा तयार हुने चलचित्र ‘डबल ट्रिपल’ मा दयाहाङ राई, खगेन्द्र लामिछाने, मिरुना मगर, केकी अधिकारी, राजाराम पौडेल, उदय सुब्बा, विल्सनविक्रम राई, माओत्से गुरुङ, बुद्धि तामाङलगायत कलाकारले अभिनय गर्नेछन् । यो चलचित्र प्रणय दिवसको अवसर परेर आगामी फागुन १ गते प्रदर्शन हुने निर्देशक शर्माले जानकारी दिएका छन् ।
“दसैँमा प्रदर्शन घोषणा गरे पनि उक्त मितिमा एकसाथ धेरै चलचित्र प्रदर्शन हुने तयारीमा रहेकाले हाम्रो मिति परिवर्तन गरेका छौँ । एकसाथ भिडेर भन्दा पनि एकअर्कालाई हातेमालो गर्दै अगाडि बढ्नुपर्ने समय भएकाले म आफैँ पछाडि हटेको हुँ”, उनले भने ।
त्यस्तै, राजबहादुर सानेले निर्देशन गरेको चलचित्र ‘सिटामोल’ आगामी साउन २३ मा प्रदर्शन हुने घोषणा गरिएको छ । अभिनेता सौगात मल्ल, बेनिशा हमाल, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतमलगायत कलाकारले चलचित्रमा अभिनय गरेका छन् ।
निर्देशक तुलसी घिमिरे आठ वर्षको अन्तरालपछि चलचित्र ‘पहाड’ मार्फत पुनः निर्देशनमा फर्किएका छन् । निर्देशक घिमिरेले आफ्नो चलचित्र तिहारको भाइटीकालगत्तै कात्तिक ७ देखि दर्शकमाझ आउने घोषणा गरे । युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको भनिएको चलचित्रको प्राविधिक कामसँगै विदेश प्रदर्शनलाई ध्यानमा राखेर प्रदर्शन मिति घोषणा गरेको निर्देशक घिमिरेले बताएका छन् ।
“हामीले १० दिन मुम्बईमा चलचित्र छायाङ्कन गर्न बाँकी राखेका छौँ । त्यो सकेर प्राविधिक कार्यसँगै प्रचारप्रसार गर्दा लाग्ने समयलाई मध्यनजर गर्दै प्रदर्शनको समय घोषणा गरेका हौँ । विषयवस्तु पारिवारिक भएकाले पनि यसलाई स–परिवार हलमा गएर हेर्न मिल्ने गरी प्रदर्शन गर्न लागेका हौँ ” निर्देशक घिमिरेले भने ।
उक्त चलचित्रमा अभिनेता मदनकृष्ण श्रेष्ठ, सुनिल थापा, विपीन कार्की, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्यलगायत कलाकारले अभिनय गरेका छन् । निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै चलचित्रमार्फत अभिनेत्रीका रूपमा दर्शकसामु ल्याउँदै छिन् ।
प्रतिक्रिया