१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरमा सिन्दुर जात्रा



भक्तपुर । भक्तपुर मध्यपुरथिमीमा मंगलबार हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दुर जात्रा अर्थात् सुथः सिया जात्रा मनाइएको छ । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये सिन्दुर जात्रा अति प्रसिद्ध जात्रा हो ।

थिमिमा मात्र मनाइने सिन्दुर जात्रामा बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो । बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरूसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरू भएको थियो ।

जात्रा सुरू भएपछि पमाहरू हातहातमा चिराग अर्थात् बत्ती लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवता घर परिक्रमा गराइएको थियो ।

यसैगरी विष्णुवीर,सिद्धिकालीलगायतका देवदेवीहरूको खट ल्याएर यो जात्रा मनाइएको छ । जात्रामा बालकदेखि वृद्ध वृद्धासम्म सहभागी थिए । सिन्दूर जात्रा मध्यपुर ठिमीको सबैभन्दा ठूलो जात्रा हो । जात्रामा ठिमी क्षेत्रबाट २३ तथा नगदेश, बोडे र टिगनीबाट ९ वटा गरी ३२ वटा खटसहित नगर परिक्रमा गर्ने परम्परा रहेको छ ।

यसमा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी, टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरि टोल टोलमा सिन्दूर खेल्दै सिन्दूर जात्रा मनाइन्छ । मूल देवता खटमा राखी धिमे बाजाका साथ चिराक बाली सिन्दुरे जात्रा मनाइने परम्परा रहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ४ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।