२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘हास्य होइन गम्भिर भूमिकामा अभिनय गर्न चाहन्थे’



काठमाडौँ
कलाकार हरिवंश आचार्यको पहिचान नै हास्य व्यङ्ग्यात्मक प्रहसन र प्रस्तुति रहँदै आएको छ । तर, विसं २०७९ मा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’ मार्फत राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेता घोषणा भएर पुरस्कृत भएपछि कलाकार आचार्यले आफूलाई नियमितभन्दा फरक भूमिकामा कला प्रस्तुत गर्दै आएका छन् ।

सतसठ्ठी वर्ष पुगिसक्दा पनि आफ्ना कामलाई कलाकार आचार्यले गम्भीरतापूर्वक लिन्छन् र नयाँ कलाकारझैँ मेहनत गरेर आफ्नो काम गर्छन् । कलाकार आचार्यले चलचित्र ‘भूठान’ मा नियमितभन्दा फरक अभिनय गरेको बताएका छन् । अर्थात् चलचित्रभर हसाएको दृश्यमा उनी देखिदैनन् । चलचित्र ‘बलिदान’ पछि पूर्णतया गम्भीर पात्रमा आफू पहिलोपटक देखिएको अभिनेता आचार्यले बताएका छन् ।

चलचित्र भूठानको प्रबद्र्धन कार्यक्रममा बोल्दै उनले भने “मलाई हास्य हराएको मान्छे बनेर चलचित्रमा अभिनय गर्ने रहर थियो, त्यो यसपटक पूरा भएको छ । मैले ‘महापुरुष’मा पनि आफ्नो छविभन्दा फरक रुपमा प्रस्तुत हुने कोसिस गरेको थिएँ, तर त्यसमा निर्देशकले मलाई सन्तुलित रुपमा प्रस्तुत गर्नुभयो । यसपटक भने फिल्म अवधिभर एकपटक मात्र हाँसेको छु ।”

चलचित्रको श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गर्दै कलाकार हरिवंश आचार्यले सुरुमा कथाअनुसारको पात्र भएर बाँच्न कठिनाइ भएको स्मरण गरेका छन् । किनकि कलाकार आचार्यले यस किसिमको पात्रको भूमिकामा रही अभिनय नगरेको धेरै भएको थियो । यद्यपि कथा र उठान गरिएको विषयवस्तुले भने अभिनेता आचार्यलाई लोभ्याएको थियो ।

“एउटा कलाकारले कहिले पनि राम्रो कथालाई छाड्न सक्दैन । फिल्ममा अभिनय गर्नेक्रममा निर्देशकले तपाईँ नेपाल जान नपाउने हुनुभयो भने के गर्नु हुन्छ, भनेर प्रश्न गरेपछि सुरुमा एकछिन अप्ठ्यारोमा परेँ । त्यही भावलाई चलचित्रमा प्रस्तुत गर्न भन्नुभयो, त्यही गरेँ । अहिले फर्केर हेर्दा राम्रै गरेँजस्तो लाग्छ”, अभिनेता आचार्यले बताए ।

कलाकार आचार्यले चलचित्रमा भूठानबाट अमेरिका पुगेको एक व्यक्तिको भूमिका निर्वाह गरेका छन् । उक्त व्यक्ति आफ्नै देशमा फर्किन चाहेन्थे तर नसकिरहेको घटनाक्रममा आधारित भई अभिनेता आचार्यले चलचित्रमा अभिनय गरेका छन् ।

विनोद पौडेलले निर्देशन गरेको चलचित्रमा अभिनेता आचार्यसँगै हलिउड अभिनेता ब्रुस डर्न, दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द लामा, रिचा घिमिरे, जोएस पाण्डेलगायतका कलाकारले अभिनय रहेको छ । चलचित्र ‘भूठान’ यही वैशाख १२ गतेदेखि देशभर प्रदर्शन हुने बताएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ९ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।