१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


प्रकाश सपुतको गीतमा नगरकोटमा झुमे पर्यटक



भक्तपुर
नगरकोट भ्रमण वर्ष उद्घाटन महोत्सवको आज तेस्रो र अन्तिम दिन । बतासे डाँडामा मध्याह्नसँगै आन्तरिक र विदेशी पर्यटकको भीड बढ्दै गयो । पर्यटक खचाखच भरिए । कोही स्टलमा सामान किन्दै, कोही खाजामा त कोही खेलमा रमाउँदै थिए । पर्यटकको चाप र त्यसैमा गायक–गायिकाको उपस्थितिले महोत्सवको माहोललाई थप रमाइलो बनायो ।
        ‘बस्नेलाई पीर परेर, हुन सम्म भा छ
जानेलाई नजाउ भन्न नसकिने रछ
तिम्रो मयाले मलाई पीर दियो
तिम्रो मयाले मलाई पीर दियो’…
भन्दै जब चर्चित गायक प्रकाश सपुत स्टेजमा उक्लिए, माहोल थप तात्यो । त्यसपछि सुरु गरे प्रकाशले गीतका झन्कारहरू । दर्शकदीर्घामा रहेका पर्यटकहरू नाच्न थाले । चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री, उपमेयर रमेश बुढाथोकी, मण्डन देउपुरका मेयर टोकबहादुर वाइवा, उपमेयर विष्णुमणि नेपाल, बनेपाका मेयर शान्तिरत्न शाक्य, शङ्खरापुर नगरपालिकाका उपमेयर समिता श्रेष्ठ, चाँगुनाायणका प्रशासकीय प्रमुख शिवप्रसाद हुमागाईं, पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङलगायत अतिथिहरु स्टेजमै नाच्न थाले ।
दर्शकदीर्घामा उभिएका आन्तरिक पर्यटकसँगै मिसिएका विदेशी पर्यटकहरू पनि प्रकाश सपुतको स्वर र सङ्गीतको तालमा ताल मिलाउँदै नाच्न थाले ।
‘कानमा झुम्कना, तिमीलाई कल्ले किन्दियो,
नाकको बुलाकी तिम्लाई कल्ले किन्दियो
पाउमा लाको पाउजु, हातमा सुनको चुरा
तिमीलाई कल्ले किन्दियो
हे फूलमया, हे फूलमया’…
योसहित पर्यटकीय क्षेत्र नगरकोटमा प्रकाश सपुतले सातवटा गीत गाउँदा दर्शकले भरपूर मनोरञ्जन लिए ।
तीनदिने महोत्वसको समापन गर्दै चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले देश र नगरपालिका बनाउने अभियान पूरा गर्न ‘नगरकोट भ्रमण वर्ष–२०८२’ को आयोजना गरिएको बताएका थिए । मेयर खत्रीले भने, “देश बनाउनु छ, हाम्रो नगरपालिका बनाउनु छ, यो कामका लागि सबैको सहभागिता र सबैको अपनत्वको खाँचो छ । जनप्रतिनिधि, नागरिक र पर्यटकलगायत सरोकार भएकाहरूका सहयोगबाटै नगरलाई सुन्दर र समृद्धि बनाउन सकिनेछ ।”
मेयर जीवन खत्रीले भ्रमण वर्ष–२०८२ घोषणा गरेर यहाँका चाँगुनारायण, मण्डनदेउपुर, बनेपा र शङ्खरापुर नगरपालिकाले समृद्धि र विकासमा थप गति ल्याउन चाहेको बताए । भ्रमण वर्षको एक वर्षभित्र चारवटै नगरपालिकाको कला, संस्कृति, सम्पदा, पहिचान, रीतिरिवाज, कृषि, पर्यटनलगायतको संरक्षण, विकास र पहिचान बढाउन सफल हुने उनको भनाइ थियो ।
चाँगुनारायणका नगरका उपमेयर रमेश बुढाथोकीले भ्रमण वर्षले नगरकोटको मात्रै नभई चारवटै पालिकामा पर्यटकीय गन्तव्य बढाउने र पर्यटकको बसाइँ लम्ब्याएर विकास र समृद्धिमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।  एक वर्षमा एक लाख बाह्य र १० लाख आन्तरिक पर्यटक भित्र्याउने, विश्व पर्यटन बजारमा नगरकोटको पहिचानलाई स्थापित गर्ने उद्देश्यले वैशाख १ गतेदेखि सुरु भएको ‘नगरकोट भ्रमण वर्ष–२०८२’ घोषणा गरिएको उनले बताएका छन् ।
नयाँ वर्षको पहिलो दिन वैशाख १ गते राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेको भ्रमण वर्षमा दोस्रो दिन इन्द्रेणी सांस्कृतिक समूह र आज तेस्रो तथा महोत्सवको अन्तिम दिन प्रकाश सपुतको गायनले पर्यटकलाई मनोरञ्जन प्रदान गरेको वडा नं छ का वडाध्यक्ष धनबहादुर लामाले बताएका छन् ।
पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले महोत्सवमा खाना, घरेलु उत्पादनलगायत विभिन्न  ६० वटा स्टल राखिएका र तीनदिने कार्यक्रममा आन्तरिक तथा बाह्य पर्यटकको आगमनले होटल व्यवसायीलाई उत्साहित बनाएको बताए ब्।
भ्रमण वर्ष १२ महिना अर्थात् आउँदो चैत मसान्तसम्म सञ्चालन हुनेछ । पर्यटकले यहाँबाट हिमाली दृश्य, सूर्योदय, सूर्यास्त र यहाँको स्टलमा राखिएका विभिन्न सामान तथा उत्पादनको अवलोकन गरेका थिए ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  १२ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।