काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपत्यका विकास प्राधिकरणका करारका एक कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
जिल्ला आयुक्तको कार्यालय काठमाडौँद्वारा सञ्चालित बागमती नगर जग्गा एकीकरण आयोजना गौरीघाटमा अमिन (करार) पदमा कार्यरत दिनेश प्रसाद यादवविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दामा आरोपपत्र दायर गरेको हो ।
अख्तियारले उजुरीका आधारमा यादवको २०६३ साल भदौ ८ गतेदेखि २०८१ साल असार ३० गतेसम्मको सम्पत्ति र आय–व्ययको अनुसन्धान गर्दा वैध आम्दानीको तुलनामा ३ करोड २९ लाख ४५ हजार ७ सय २ रुपैयाँ २१ पैसाको गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गरेको छ ।
यादवको वैध आय २ करोड ४२ लाख २० हजार ३०१ रुपैयाँ ३० पैसा रहेकोमा उनको खर्च ५ करोड ७१ लाख ६६ हजार ३ रुपैयाँ ५१ पैसा पुगेको आयोगको दाबी छ । आयोगका अनुसार वैध आय र खर्चबीचको अन्तर ३ करोड २९ लाख ४५ हजार ७०२ रुपैयाँ २१ पैसा ऋणात्मक देखिएकोले उक्त रकम गैरकानुनी रुपमा आर्जन गरिएको ठहर गरिएको हो ।
यादवले आर्जन गरेको स्रोत नखुलेको सम्पत्तिबाट बढाइएको हालको सम्पत्तिसमेत जफत गर्न माग गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० (२), ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम कारबाही माग गरिएको छ ।
त्यस्तै, यादवले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति र त्यसबाट बढाइएको सम्पत्ति आफ्नी श्रीमती अमृता कुमारी यादवको नाममा राखेको पुष्टि भएको आयोगले जनाएको छ ।
उक्त सम्पत्तिसमेत जफत गर्न प्रयोजनका लागि अमृता कुमारी यादवलाई समेत प्रतिवादी बनाइएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
प्रतिक्रिया