काठमाडौं । मकवानपुर हेटौंडाबाट प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा बहुदरमाई नगरपालिका–९ का २४ वर्षीय मुम्ताज मिया रहेका छन् । मुम्ताज मधेश प्रदेश ०३–००१ ज ४५१ नम्बरको सुमो गाडीको टायरभित्र लागूऔषधका बोत्तल राखेर काठमाडौँतर्फ आउँदै गर्दा पक्राउ परेका हुन् ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले पूर्व–पश्चिम लोकमार्गस्थित रातोमाटे चेकपोष्टमा सवारी साधन जाँच गर्ने क्रममा गाडीको टायरभित्र लुकाएर राखिएको २२५ बोतल लागूऔषध फेला परेको हो ।
अमलेखगञ्ज, बाराबाट काठमाडौँतर्फ आउँदै गरेको उक्त गाडीको छतमा जगेडा टायरभित्र प्वाल पारी लुकाएर राखिएको अवस्थामा ओनरेक्सका १०० एमएलका २२५ बोतल फेला परेको प्रहरीले जनाएको छ ।
लागूऔषध, गाडी र चालक मुम्ताज मियालाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धानका लागि मकवानपुर जिल्ला अदालत हेटौंडाबाट पाँच दिनको म्याद अनुमति लिइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया