काठमाडौं । २०८२ बैशाख ७ गतेसम्ममा काठमाडौँ महानगरपालिकाले ७ अर्व २१ करोड ६२ लाख ८४ हजार २८ रुपैयाँ राजस्व संकलन गरेको छ । यस दिनसम्म गएको आर्थिक वर्षसम्म तुलना गर्दा घरबहाल करमा २५ करोड ५३ लाख २ हजार ४२ रुपैयाँ बढी संकलन भएको छ । यस शीर्षकमा आर्थिक वर्ष २०८०/०८१ मा १ अर्व ८६ करोड १२ लाख ८२ हजार २२९ रुपैयाँ संकलन भएको थियो । राजस्व विभागका प्रमुख दिपक अधिकारीका अनुसार यस शीर्षकमा चालु आर्थिक वर्षको यस अवधिमा २ अर्व ११ करोड ६५ लाख ८४ हजार २७२ रुपैयाँ राजस्व संकलन भएको छ ।
यस्तै सम्पत्ति करमा १५ करोड २२ लाख ४३ हजार १४५ रुपैयाँ वढी राजस्व संकलन भएको छ । गएको आर्थिक वर्षको यस अवधिमा ७९ करोड ५२ लाख ८३ हजार ६६ रुपैयाँ राजस्व संकलन भएकोमा यस वर्ष ९४ करोड ७५ लाख २६ हजार २१२ रुपैयाँ संकलन भएको छ ।
न्यायिक दस्तुरमा ८४ हजार ८०५ रुपैयाँ, पर्यटन शुल्कमा १ करोड ६७ लाख ४० हजार ५ सय रुपैयाँ, भूमिकर/मालपोत करमा १ लाख ९० हजार ८७० रुपैयाँ, शिफारिस दस्तुरमा ७१ लाख २८ हजार २६८ रुपैयाँ, प्रशासनिक दण्ड, जरिवाना र दस्तुरमा ३९ लाख ५६ हजार ८८३ रुपैयाँ वढी रकम जम्मा भएको छ ।
सहरमा भवन निर्माण गर्ने स्थान सकिँदै गएपछि नक्सा पास दस्तुर घट्न थालेको अधिकारीको भनाइ छ । यो शीर्षकमा गएको वर्ष ४९ करोड ८२ लाख १० हजार ७१० रुपैयाँ संकलन भएकोमा यस वर्ष २९ करोड ६४ लाख ७४ हजार ५३६ रुपैयाँ संकलन भएको छ । यो गएको वर्षभन्दा २० करोड १७ लाख २६ हजार १७४ रुपैयाँ कम हो । अन्य प्रशासनिक सेवा शुल्कमा पनि यस वर्ष राजस्व घटेको छ । यस शीर्षकमा गएको वर्षभन्दा २ करोड ६३ लाख ९६ हजार २९९ रुपैयाँ कम राजस्व उठेको छ ।
हनुमान ढोका दरबार संरक्षण कार्यक्रमको आयमा वृद्धि भएको छ । गएको वर्ष यस अवधिमा १४ करोड ६ लाख ६३ हजार रुपैयाँ पर्यटन शुल्क संकलन गरेको कार्यक्रमले यस वर्ष १५ करोड ७४ लाख ३५ हजार रुपैयाँ संकलन गरेको छ । पर्यटन सेवा शुल्कसँगै अन्य सेवा शुल्क र अन्य प्रशासनिक सेवा शुल्क गरी कार्यक्रमबाट १५ करोड ७८ लाख ५३ हजार ५ सय रुपैयाँ संकलन भएको छ । गएको वर्ष यस अवधिमा १४ करोड ९ लाख ६८ हजार रुपैयाँ संकलन भएको थियो ।
प्रतिक्रिया