१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काभ्रेमा रगतको चरम अभाव



काठमाडौं । बनेपास्थित नेपाल रेडक्रस सोसाइटी काभ्रेको रक्त सञ्चार सेवा केन्द्रमा रगत मौज्दात शून्य अवस्थामा रहेको छ । बिरामीका लागि स्थानीय नागरिक तथा अस्पतालद्वारा रगत लिन आज केन्द्रमा पुग्दा केन्द्रले एक यूनिट रगतसमेत दिन नसकेको जनाइएको छ ।

केन्द्रमै केही दिनदेखि रगत अभाव भएको बताइएको छ । “केन्द्रमा एक यूनिट रगत पनि छैन, जिल्लाका अस्पताल र व्यक्तिबाट माग भइरहेको छ”, केन्द्रका ‘स्टोर इन्चार्ज’ गोकुल बानियाँले भने । उनका अनुसार रगतका लागि बिहीबार विहानैदेखि केन्द्रमा लगातार फोन आइरहेको छ । रगतको मुख्य बैंकका रुपमा रहेको नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालितको उक्त केन्द्रमा रगत नहुँदा निकै समस्या भइरहेको उनले बताए । रेडक्रसले सात सय यूनिट रगत भण्डारण क्षमताको केन्द्र सञ्चालन गर्दै आएको छ ।

जिल्लामा नियमित रूपमा रक्तदाता नहुनुले पनि रगतको अभाव भइरहेको जनाइएको छ । केही दिनयता जिल्लामा रगत अभाव हुन थालेको हो । रगत दान गर्नेभन्दा रगत लिनेको सङ्ख्या बढ्न थालेपछि रगत अभाव हुन थालेको केन्द्रले जनाएको हो । रक्तदान कार्यक्रम कम भएका कारण पनि रगत अभाव देखिएको रेडक्रस काभ्रेले जनाएको छ ।

केन्द्र प्रमुख राधा थापाका अनुसार हाल केन्द्रमा रगतको अभाव पूर्ति गर्न कठिनाई भइरहेको छ । उनका अनुसार केन्द्रमा ‘ए–पोजेटिभ’, ‘बी–पोजेटिभी’, ‘एबी–पोजेटिभी’ र ‘ओ–पोजेटिभ’लगायत सबै प्रकारको रगतको माग भएको हो । रगत अभाव हुनथालेपछि बिरामीहरू समस्यामा परेका छन् ।

काभ्रेपमा रगत अभाब भएपछि केही हप्तादेखि भक्तपुर र काठमाडौंबाट रगत पूर्ति गर्नुपर्ने बाध्यता रहेपनि पछिल्ला दिनदेखि ती दुई जिल्लामा रगत अभाव भएको खबर प्राप्त भएको ‘स्टोर इन्चार्ज’ बानियाँले बताए । जिल्लामा आधा दर्जन अस्पताल तथा एक दर्जन क्लिनिक सञ्चालनमा छन् । जिल्लाका सबै अस्पतालमा सामान्यदेखि विशिष्ट खालका शल्यक्रियासमेत हुने गरेका छन् । शल्यक्रियाका क्रममा रगतको आवश्यकता पर्ने भएकाले बिरामीलाई आवश्यता पर्ने ग्रुपको रगत नहुँदा अस्पतालका साथै बिरामीका आफन्तलाईसमेत समस्या हुने गरेको पाइएको छ ।

काभ्रेमा सञ्चालित अस्पतालमा छिमेकी जिल्ला सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखा तथा ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुरसँगै मधेस र भित्री मधेसका विभिन्न जिल्लाबाट बिरामी उपचार गर्न आउँछन् । अस्पतालमा बिरामीको चाप बढेसँगै रगत अभावको समस्या चुलिएको हो ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  १ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।