ललितखबर
राजधानीको बानेश्वरस्थित एक चलचित्र भवनमा चलचित्र ‘झिल्को’ले विहीबार ४ बजेर ३० मिनेटका लागि ग्राण्ड प्रिमियर भन्दै आगन्तुकलाई निम्तो पठायो । कार्यक्रमको निर्धारित समयभन्दा अगाडि नै हलमा आगन्तुक पुगे । आगन्तुकको अत्याधिक भीडका कारण ग्राण्ड प्रिमियर चकटी प्रिमियरमा परिणत बनेको छ ।
चलचित्र भवनका करिव ५ सय ५० सिट मध्ये सबै भरिएपछि आगन्तुकहरु भूईमा रुमाललाई चकटी ओछ्याएर बसेका थिए । बस्ने सिट नपाएपछि केही पाहुना हलबाट फर्किरहेका देखिन्थे ।
कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुक इन्दिरा राना पनि हलमा प्रवेश गरेपछि सिट नपाएर भौतारिरहेकी थिइन् । आयोजकले केही समयपछि सिटको प्रबन्ध गरेको थियो ।
चलचित्रका निर्देशक यादवकुटको प्रबन्ध गर्न नसकेको भन्दै पाहुना अगाडि उभिएर माफी मागे । भने, ‘हामीले सोचभन्दा धेरै पाहुनाको सहभागीता भयो । चलचित्र हेर्न बच्चा सहित आगन्तुक आउनु भएकाले बस्ने ठाँउको समस्या भयो । दुई वटा मात्रै हल भएकाले केही गर्न सकिएन । माफी दिनु होला ।’
कार्यक्रममा निर्माण पक्षका एक सदस्यले प्रिमियरको उत्साहजनक सहभागिताका कारण चलचित्र ‘झिल्को’ हेर्ने दर्शककको आर्कषण रहेको तर्क गरे ।
चलचित्र ‘झिल्को’ आज शुक्रबारबाट देशभरका चलचित्र भवनहरुमा प्रर्दशन सुरु भएको छ ।
राजधानीमा आयोजना गरिने प्रिमियरहरु पछिल्लो समय अवव्यवस्थित देखिन्छन् । कतिपय प्रिमियरमा चलचित्रको आयोजकका रुपमा रहेको कलाकारहरु नै ढिला आइदिने, चलचित्र भवनमा लामो समयसम्मरेड कार्पेटमा पाहुनालाई पर्खनुपर्ने बाध्यताका कारण दुई घण्टाभन्दा ढिलो कार्यक्रम सुरु हुने गरेको पाइन्छ । कतिपय चलचित्रको प्रिमियरको अन्तिम समयसम्म पनि पोष्ट प्रोडक्सनको काम सकिएको नै हुँदैन ।
विशिष्ट पाहुना बोलाइएका आयोजकहरुका कयौं कमजोरी देखिदा ‘ग्राण्ड प्रिमियर’ भनिए पनि झुर प्रिमियरको रुपमा परिणत भएको पाइन्छ ।








प्रतिक्रिया