२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘अञ्जिला’ ५१ औँ दिनसम्म निरन्तर प्रर्दशनको सफलतासँगै निर्माण पक्षले मनायो उत्सव



 

काठमाडौं

चलचित्र ‘अञ्जिला’ ५१ औँ दिनसम्म निरन्तर प्रर्दशन हुन सफल भएको अवसर पारेर निर्माण पक्षले राजधानीमा उत्सव मनाएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा चलचित्रको टिम तथा ५१ दिन मनाएका हलहरूलाई प्रशंसा पत्र प्रदान गर्दै खुसी साटासाट गरिएको हो ।

गतवर्ष फागुन २९ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले देशभरका ४५ शोहरूसहित ५१ दिन मनाएको हो । चलचित्रले १० करोड रुपैयाँभन्दा बढीको ग्रस कमाइ गर्दै बायोपिक चलचित्रमा ऐतिहासिक कीर्तिमान बनाएको निर्देशक मिलन चाम्सले दाबी गरेका छन् । उनले नेपाली चलचित्रको इतिहासमा १० करोड माथिको व्यापार र ५१ दिन पुग्ने पहिलो नेपाली बायोपिक चलचित्र बनेको जिकिर गरे ।

कार्यक्रममा चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई लगायत सशस्त्र प्रहरी बलका विभिन्न ओहदाका पदाधिकारीहरू, पत्रकारहरू, हल सञ्चालक तथा व्यवस्थापकहरू र अन्य शुभचिन्तकहरूको उपस्थिति थियो । सो अवसरमा चलचित्रका निर्देशक मिलन चाम्सले आफ्नो टिम, दर्शक, पत्रकार तथा सबै शुभचिन्तकहरू सफलताको हकदार भएको बताए ।

सशस्त्र प्रहरी बलका सांस्कृतिक समूहहरूले विभिन्न प्रस्तुतिहरू दिए । यस्तै, चलचित्रका गायक तथा सङ्गीतकार थानेश्वर गौतमले पनि ’अञ्जिला’को चर्चित गीत ’रात किन हुन्छ’को प्रत्यक्ष प्रस्तुति दिए ।

 

‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित चलचित्र हो । जसमा एन्जिलाले आफैँ प्रमुख भूमिका निर्वाह गरेकी छन् । चलचित्रमा उनीसँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ ।

वर्ष २०८१ को अन्त्यतिर रिलिज भए पनि ‘अञ्जिला’ ले गत वर्षका उत्कृष्ट पाँच चलचित्रमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको थियो ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ११ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।