२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काभ्रेबाट ४९ रोहिङ्ग्या शरणार्थी काठमाडौं फर्काइयो



काठमाडौं । धुलिखेल नगरपालिका–१२ शङ्खुमा केही दिनदेखि बस्दै आएका म्यानमारका रोहिङ्ग्या शरणार्थीलाई आज काठमाडौं फर्काइएको छ।

स्थानीय जनप्रतिनिधि तथा प्रहरीले ११ परिवारका ४९ जना रोहिङ्ग्या शरणार्थीलाई फर्काइएको हो। जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले गत सोमबार साँझदेखि उक्त स्थानमा बसेका उनीहरू काठमाडौँस्थित कपनबाट आएकाले उतै फर्काइएको जानकारी दिए। उनका अनुसार प्रहरी, वडाध्यक्ष मोहनप्रसाद लामिछाने तथा स्थानीयको रोहबरमा फिर्ता पठाइएको हो।

यसअघि विसं २०७६ माघमा पनौती नगरपालिका–३ कुशादेवीमा १० परिवारका १३ बालबालिकासहित ३४ रोहिङ्ग्या शरणार्थीले टहरा बनाएर बसेका थिए। एक सय ४० जना शरणार्थी बस्नेगरी टहरा बनाउन लागेको अवस्थामा स्थानीयले अवरोध गरेपछि उनीहरू उक्त ठाउँ छाडेर लसुनटार फर्किएका थिए।

काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित लसुनटार र राममन्दिर क्षेत्रका टोलमा म्यानमारबाट आएका रोहिङ्ग्या शरणार्थी बस्दै आएका छन्। ती दुई स्थानमा करिब १४ रोपनी जमिनमा करिब ४०० शरणार्थी रहेको अनुमान गरिएको छ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ८ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।