३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुर र ललितपुरपछि गोकर्णेश्वरलाई ‘योग नगर’ घोषणा



काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकालाई ‘योग नगर’घोषणा गरिएको छ । प्रतिनिधि सभा अर्थ समिति सभापति सन्तोष चालिसे र नगर प्रमुख दीपककुमार रिसाललगायतले स्थानीय गराडोलमा आयोजित कार्यक्रममा ‘योग नगर’को औपचारिक घोषणा गरे ।

सो अवसरमा सभापति चालिसेले विश्वभर विभिन्न नयाँ–नयाँ रोग फैलिएका र अशान्ति बढिरहेका बेला मानिसलाई त्यसबाट मुक्ति दिलाउन योगाभ्यास महत्त्वपूर्ण विधि हुनसक्ने धारणा राखे ।
गोकर्णेश्वर नगरपालिकाले जनस्वास्थ्य कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको अवस्थामा आगामी दिनमा योग र ध्यानलाई उच्च महत्त्व दिइने नगर प्रमुख रिसालले बताए ।

योगगुरुहरुको सहभागिता रहेको सो कार्यक्रममा पतञ्जली योग समिति नेपालका शंकर योगी र अर्जना घिमिरेले योग साधना र ध्यानबारे प्रशिक्षणसहित जानकारी गराएका थिइन्। उक्त नगरपालिकाका नौ वटै वडाका ४० योग केन्द्रमा नियमित योगाभ्यास हुने गरेको छ । नेपालमा पतञ्जली, जीवन विज्ञान, आर्ट अफ लिभिङ, ओशो, ब्रह्मकुमारी राजयोगलगायतका संस्थाले नियमित ध्यान र योग सिकाउँदै आएका छन् ।

योगाभ्यासले मानिसलाई शारीरिक स्वास्थ्य मात्र नभई अनुशासित बनाउँछ । पछिल्लो समय बढ्दो सहरीकरण र मिसावटयुक्त खानेकुराले अनेक रोग देखा परिरहेको अवस्थामा त्यसका निदानका लागि योग अभ्यासको महत्त्व दिनानुदिन बढिरहेको छ ।

यसअघि भक्तपुरलाई ‘योग जिल्ला’ र ललितपुरको गोदावरीलाई ‘योग नगर’ घोषणा गरिएको थियो । नेपालले हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउँदै आएको छ । अन्तरराष्ट्रियरुपमा जुन २१ का दिन योग दिवस मनाइने गरिन्छ । नेपाल भूमिमा ऋषिमुनिले समेत योगाभ्यास र साधना गरेकाले योग भूमि भएको विश्वास गरिँदै आएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ५ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।