ललितखबर
अठारौं शताव्दीको जनजीवनमा आधारित चलचित्र ‘जार’ देशभरका धेरै चलचित्र भवनहरुमा शुक्रबारबाट प्रर्दशनमा आएको छ ।
अरुकी श्रीमती भगाएर विवाह गर्ने युवकलाई ‘जार’ भनिन्छ । अठारौं शताव्दीमा जंगबहादुर राणाको शासन कालमा ‘जार’ लाई काट्न पाइने कानून थियो ।
सिक्किमका साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित चलचित्र ‘जार’ कला र साहित्यको एउटा गतिलो दृश्य संग्रह गरिएको दस्तावेजको रुपमा दरिएको देखिन्छ ।
मिठो भाषा, कवितात्मक शैली र भावनाका तरंगहरु समेटेर लेखिएका साहित्यिक कृतिमा बनेको चलचित्र कस्तो हुनुपर्छ ? कला र साहित्यिक चेत भएकाहरुको छुट्टै दृष्टिकोण हुन्छ । यस्तो मिठो कथ्यशैलीमा चलचित्र ‘जार’ निर्माण गरिएको छ । जुन शुक्रबारबाट देशभरका हलहरुमा प्रर्दशन भइरहेको छ ।
कथासार
चर्चित साहित्यकार इद्रबहादुर राईको ‘जार’ कथा पढेका धेरैले चलचित्र बुझेका हुनसक्छन् ।
इन्द्रमानको ठूलीको घरमा आउने जाने गर्छ उसको परिवारसँग राम्रो हिमचिम छ । त्यसैले इन्द्रजितको ठूलीसँग मायाँ बस्छ । उ पल्टनमा जागिरे छ । ठूलीसँग चाडै आउने बाचा गरेर ऊ पल्टनमा जागिर खान जान्छ ।
ठूलीकी बहिनी र इन्द्रमानको बहिनीबीच गाँउमा मितेरी साइनो गासिन्छ । अनि ठूलीको हर्षजितसँग विवाह हुन्छ ।

ठूली र इन्द्रमानको प्रेममा आउने उतारचढावलाई चलचित्रको कथा बनाइएको छ । चलचित्रमा तत्कालीन समयको जंगी कानून र समाजको मनोदशालाई चलचित्रमा देखाइएको छ ।
चलचित्रमा प्रयोग भएका आवाज पनि उत्तिकै मिठा छन् । खोला नालाको कलकल आवाज, चराचुरुंगीको चिरविर र उराठलाग्दो पाखा पखेरामा उस्तै पार्शसंगीतले दृश्यहरु सिंगारिएको छ । टाढाबाट सुनिने मधुरो स्वरले दृश्यहरुमा मिठास भरेको छ ।
सुन्दर पक्ष
चलचित्र ‘जार’मा पात्र बोल्दैन तर चलायमान दृश्य बोलिरहेका छन् । थोरै संवादमा पनि कथा भन्न खोजिएको छ । दृश्यहरुमा लयबद्ध छन्, कविताजस्तै मिठो साहित्यिक र कलात्मक मिठास भरिएको छ । ठूली हाँसेको, टोलाएको अनि आँशु झरेको दृश्य संवाद भन्दा धेरै बलियो छन्, कथा भन्नका लागि ।

चलचित्रभर कलात्मक दृश्य भेटिन्छन् । घाम अस्ताउदाको रातो आकाश अनि आगो बालिरहेको रातको दृश्य मनमोहक लाग्छन् ।
ए्तिहासिक कालखण्ड बुझाउन गीत संगीत पनि उस्तै शैलीमा बनाइएको छ । गायिका झुमा लिम्बुको गीत गाउने शैलीले पनि इतिकासको त्यो बेलाको झल्को दिएको छ । गीत संगीत पनि उत्तिकै मिठो छ ।
नुरसाङ भुटियाको समूहले बनाएको भिएफएक्स दृश्यमा रहेको बाघले आक्रमण गरेको दृश्य हेर्दा सात्तो लैजान सफल छ । एक किसिमको मिठो डर पैदा गरेको छ ।
सुरुमा चलचित्रको गति साह्रै सुस्त लागे पनि विस्तारै गति लिएको छ । इन्द्रमान रानामगर (सौगात) हाडफोरा पातकी ठहरिएपछि चलचित्रले रोचक मोड लिन्छ । अन्तमा द्वन्द्वको दृश्य र अनौठो संयोगबाट मन हल्का बनाएको छ । चलचित्र हेरेर फर्कदा दर्शकको आँखामा दृश्यहरु झल्झली याद आउँछन् । चलचित्र असाध्यै मिठो लाग्छ ।

चलचित्र जारले नेपाली परम्परा जीवनशैली बुझाएको छ । मतवाली (जनजाती)हरुको परम्परा देखाएको छ । पुराना परम्परागत घर, गाँउले जीवन दर्शाउने पाखा पखेरा, पुराना सरसामान र पोशाकले इतिहासको त्यो कालखण्डमा दर्शक आफै सहभागी भइरहेको भान हुन्छ । चलचित्रमा छोटो कथा छ तर प्रस्तुती मिठो छ । दृश्यभाषा पनि उत्तिकै स्वादिलो छ ।
गीत संगीतले इतिहासको त्यो कालखण्डको आभास गराउँछ । सँगै गीतभित्र मिठो पाराले कथा भनिएको छ ।
कमजोरी
साधारण मानिसलाई चलचित्रको कमजोरी ठम्याउन मुस्किल पर्छ । छोटो कथा भएकाले अलि लामो भइदिएको भए हुन्थ्यो भन्ने लाग्न सक्छ । चलचित्रको काष्टिङमा कतिपय साहित्य र पृष्टिभूमि बुझाउन चित्रहरुको संग्रह देखाइन्छ । जुन दृश्यले दर्शक अलमलमा पर्छन् ।
पुराना कालखण्डमा प्रयोग हुने कतिपय परम्परागत शव्द बुझ्न कठीन हुन्छ । यसलाई क्याप्सनमा राखिएको हुन्थ्यो ।

चलचित्रमा ठूलीको विवाह भएको दृश्य गायव छ । ठूली र इन्द्मानको प्रेमालाभ गहिरो छैन । हर्षजितसँग उनी खुशी छैनन् भन्ने कुरा दर्शकको मनमा पर्न दिइएको छैन ।
हुन त चलचित्र ‘जार’ संवाद सुनेर कथा बुझ्ने किसिमबाट बनाइउको होइन । यो दृश्य हेरेर अनुभव गर्ने चलचित्र हो । तर पनि धेरै ठाँउमा थोरै संवाद भएको कारण बुझ्न कठीन हुन्छ । दर्शकले दृश्य हरेर कथा ठम्याउदै जानु पर्छ । आफ्नै पारामा चलचित्रलाई बुझ्न र मनमा गुन्नु पर्ने चलचित्र छ ।
कला र सहित्यमा रुचि नभएका दर्शकलाई चलचित्र मन नपर्नसक्छ । किन की चलचित्रमा एक्सन छैन, उत्ताउलो जीवनशैलीमा हेर्न पाइने रोमान्स छैन, हाँसो र ठट्टा भेटिन्न । धुरु धुरु रुवाउने दृश्य छैन । चलचित्र हेरेर मन कटक्क खान्छ । जीउ आङ हुन्छ ।
चलयमान दृश्यहरुमा पात्रहरुको अनुहारको भाव पढेर कथा बुझ्न सकिन्छ । संवादको काम दृश्यहरुले गरेका छन् । इतिहाँसको एउटा काल खण्डको झल्को दिने चलचित्रको संवाद अलि परम्परागत भएकाले बुझ्न कठीन हुन्छ ।
अभिनय
सौगात मल्ल (इन्द्रमान रानामगर)
फरक चरित्रमा दुरुस्तै बन्न सक्ने खुबी भएका अभिनेता सौगातको यो कलात्मक क्षमता देखाउने चलचित्र हो ।
उनका प्रशंसकहरुले त यो चलचित्र छुटाउनै हुन्न ।
अभिनेता मल्लले अनुहारको भावबाट नै चलचित्रको कथा भनेका छन् । छोरै संवादमा पनि उनले भन्न खोजेका कुरा प्रष्टै बुझिन्छ ।

गिताञ्जली थापा (ठुली)
चलचित्रमा अभिनेत्री गिताञ्जलीले अभिनयकलामार्फत आफ्नो रुप लुकाएर ठूलीजस्तै बनाएकी छिन् । थोरै संवादमा पनि उनले गज्जवको अभिनय कला देख्न पाइन्छ । उनको अनुहारको भाव र सरिरको चालले धेरै कुरा भनेकी छिन् । छोटा संवादहरुमा उनको पिडा छछल्किएको पाइन्छ । समाजको इज्जत र कानूनले बाँधिएका तत्कालिन युगका महिलाहरुको मनोदशालाई गिताञ्जलीले शुक्ष्म ढंगबाट पर्दामा उतारेर देखाएकी छिन् । उनको अभिनय शिल्प गज्जव राम्रो छ ।

अनुपविक्रम शाही (हर्षजित रानामगर)
चलचित्र हेरिहँदा अनुपविक्रम शाहीको भूमिका लोभलाग्दो छ । पुरानो युगको संवादलाई उनले दुरुस्तै भनेका छन् । विर पुरुष अनि शत्रुसँग भिड्न मन पराउने बहादुर पुरुषको चरित्रलाई उनले सरल ढंगबाट पर्दामा देखाएका छन् । उनको संवादशैली पनि गाउले पारामा ढालेका छन् ।
प्रविधि
दुई सय बर्ष अघिको कथा देखाउन निर्देशक फुर्वा छिरिङ लामालाई ठूलो चुनौती भए पनि उनले त्यसलाई राम्रो काम देखाउने अवसरमा बदलेका छन् । उनले ती दृश्य देखाउन र दर्शकलाई अनुभव गराउन भरपुर प्रविधिको प्रयोग गरेका छन् । चलचित्र छायाँकन कला असाध्यै राम्रो छ । पछिल्ला समय बनेका क्यामेराका विविध लेन्सको प्रयोग गरेका देखिन्छ । उच्च अर्पाचर क्षमता भएका लेन्स मात्रै होइन जुम लेन्सको दुर्लभ प्रयोगबाट अद्भुत क्षणहरु श्रृजना गरेका छन् । उनले दृश्यहरुमा कला भर्न अध्यारोमा प्रकाश संयोजन गरेर मिठास भरेका छन् ।
धेरै चलचित्रमा अध्यारा दृश्यहरुले दर्शकको आँखा विझाउछ । तर ती परिस्थितीलाई सिनेमेट्रोग्राफर साराभनान इलाभरसुको सहायताले निर्देशक लामाले सुन्दर र सजीव दृश्यहरु कैद गर्न सफल भएका छन् ।

विज्ञान दाहालले अलौकिक मिठो ध्वनी श्रृजना गर्न सहयोग गरेका छन् । पानीको थोपा थोपा झरेको समेत मिठो आवाज राखिएको समेत दृश्यमा सुनिन्छ ।
सिद्धार्थ मिरको रंग संयोजन,ओम प्रकाश सेवाको भेषभुसा,अखिलेस राईको दृश्य सम्पादनमा खोट भेटिन्न ।
अन्तमा,
नेपाली ऐतिहासिक कालखण्डलाई बुझाउने उत्कृष्ट क्षमता भएको चलचित्र हो ‘जार’ ।
चलचित्रले त्योबेलाको समाजमा रहेका निरिह महिलाहरुको मनोदशालाई प्रष्टसँग देखाएको छ । बन्द समाजमा महिलाको भूमिका शुन्य थियो भन्ने बुझ्न यो चलचित्र हेर्दा हुन्छ ।
यो चलचित्र सबै वर्गका लागि बनाइएको पक्कै होइन । ‘जार’ कलात्मक चेत भएका दर्शकले छुटाउनै नहुने चलचित्र हो ।
चलचित्र ‘जार’ ‘बुझ्नेहरुका लागि श्रीखण्ड नबुझ्नेहरुका लागि खुर्पाको विड’ हो । ‘जार’ कलात्मक चलचित्रको एउटा उत्कृष्ट नमूनाको रुपमा दरिएको छ ।








प्रतिक्रिया