२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरको सूर्यविनायकमा मेलम्चीको पानी वितरण सुरु



भक्तपुर
भक्तपुरको सूर्यविनायकमा मेलम्चीको पानी वितरण सुरु भएको छ ।
सूर्यविनायक नगरपालिकाले वडा नं–६ स्थित पाण्डुबजार हाइटमा निर्मित ८० लाख लिटर क्षमताको खानेपानी ट्याङ्कीबाट नगरक्षेत्रका विभिन्न वडामा मेलम्चीको खानेपानी वितरण सुरु गरिएको हो ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा र सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले संयुक्त रुपमा आज मेलम्ची खानेपानी वितरणको उद्घाटन गरेका हुन् । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले सूर्यविनायकमा खानेपानीको चरम अभाव अब अन्त्य हुने बताए ।
बागमती प्रदेश सरकारको रु एक करोड र सूर्यविनायक नगरपालिकाको रु आठ करोड बजेटमा  सूर्यविनायक बृहत खानेपानी आयोजनामार्फत मेलम्चीको पानी वितरण गरिएको उनले बताए । नगरपालिकाले ‘केयुकेएल’मार्फत खानेपानी वितरण गरेको नगरपालिकाका–७ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले जानकारी दिए ।
नगरपालिकाले २०८० असोजमा बृहत्त खानेपानी आयोजना सुरु गरेको थियो । अब दैनिक ३५ लाख लिटर पानी वितरण हुने जनाइएको छ । नगरपालिकाका नगर प्रवक्ता रवीन्द्र सापकोटाले पहिलो चरणमा वडा नं २ देखि ६ सम्म र दोस्रो चरणमा ७ देखि १० वडावासीलाई मेलम्चीको पानी वितरण गर्ने योजना रहेको बताए ।
हालसम्म १० हजार ९७० मिटर पाइपलाईन विस्तार सम्पन्न भएको र वडा नंं १ सिरुटारमा दुई देखि तीन किलोमिटर पाइपलाइन विस्तार गर्न बाँकी रहेको उनले जानकारी दिएका छन् ।
हालसम्म सुवर्णेश्वर, पाण्डुबजार, बालकोट, दक्षिणबाराही, सिकारीटार, घट्टेखोलालगायतका ट्याङ्कीमा मेलम्चीको पानी पठाइएको छ । छिट्टै मेलम्चीको पानी नगरभित्रका ३५ हजार घरधुरीसम्म पु–याउने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बुधबार  ११ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।