२७ मंसिर २०८२, शुक्रबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कीर्ते गरी नक्कली कागजात बनाउने गिरोह पक्राउ



काठमाडौं । प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र, सरकारी तथा गैरसरकारी कागजात बनाउने गिरोहलाई पक्राउ गरेको छ । काठमाडौंको तारकेश्वर नगरपालिका-९ फुसिंखेलमा सञ्चालन भइरहेको नक्कली कागजात बनाउने गिरोहको सूचनाको आधारमा काठमाडौं उपत्यकाको अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले छापा मारी तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोरखा भीमसेन थापा गाउँपालिका-१ का अञ्जनी बयलकोटी, ओखलढुंगा चम्पादेवी गाउँपालिका-७ का निर्मल खड्का, मकवानपुर कैलान गाउँपालिका-२ की अञ्जु खत्री रहेका छन् ।

प्रहरी अनुसन्धानअनुसार उनीहरुले विगत ४ वर्षदेखि विभिन्न सरकारी तथा शैक्षिक संस्थाको नक्कली प्रमाणपत्र, नागरिकता, जन्मदर्ता, विवाह दर्ता, चरित्र प्रमाणपत्र, मेडिकल कार्डलगायतका कागजातहरू नक्कली रुपमा तयार गरी बिक्री गर्दै आएका थिए । उनीहरुले प्रति कागजात १ हजार रुपैयाँदेखि १५ हजारसम्म शुल्क लिने गरेको खुलेको छ ।

गिरोहको प्रयोगशालाबाट प्रहरीले थुप्रै प्रमाणसहितका सामाग्रीहरू बरामद गरेको छ । जसमा विभिन्न प्रमाणपत्रहरू, मोनिटर, प्रिन्टर, माउस, स्टाम्प मेशिन, डाइ कटिङ मेसिन, विभिन्न प्रकारका स्टाम्प र मेडिकल कार्ड बनाउने सामाग्रीहरू छन् ।

उनीहरुले विशेषगरी डिपेन्डेन्ट भिसा तथा स्टुडेन्ट भिसाका लागि आवश्यक पर्ने विवाह दर्ता प्रमाणपत्र, शैक्षिक संस्था सम्बन्धित स्टेटमेन्ट, बैंक लोनका लागि आवश्यक झुठा दस्तावेजहरू बनाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८२, बिहिबार  ५ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।