काठमाडौं । आईसीसी महिला टी–२० विश्वकपका लागि थाइल्यान्डमा जारी एसियाली क्षेत्रको छनोट प्रतियोगिताको सुपर–३ चरणमा नेपालले विजयी सुरुवात गरेको छ । सोमबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई पाँच विकेटले हराएको हो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय १४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १९.३ ओभरमा पाँच विकेट गुमाएर विजय लक्ष्य पूरा गर्यो ।
सुपर–३ चरणमा नेपालले आफ्नो दोस्रो खेल मंगलबार थाइल्यान्डसँग खेल्नेछ । सुपर–३ चरणमा तीनवटै टोलीले एक–अर्कासँग एक–एक खेल खेल्नेछन् ।
सुपर–३ चरणको खेलपछि अंक तालिकाको माथिल्लो दुई स्थानमा रहने टोली आगामी महिला टी–२० विश्वकपको विश्वस्तरीय छनोट प्रतियोगितामा प्रवेश गर्नेछन् । विश्वस्तरीय छनोट प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ ।
हालसम्म विश्वस्तरीय छनोट प्रतियोगिता खेल्ने तीन टोलीको मात्र टुङ्गो लागेको छ । बङ्गलादेश, स्कटल्यान्ड र अमेरिकाले विश्वस्तरीय छनोट प्रतियोगितामा स्थान बनाइसकेका छन् । बाँकी सात टोलीको भने टुङ्गो लाग्न बाँकी छ ।
विश्वस्तरीय छनोट प्रतियोगिताका लागि अब एसियाबाट दुई, युरोपबाट दुई, अफ्रिकाबाट दुई र पूर्वी एसिया–प्यासिफिक क्षेत्रबाट एक टोलीको टुङ्गो लाग्न बाँकी छ । विश्वस्तरीय छनोट प्रतियोगिताबाट चार टोलीले सन् २०२६ मा आयोजना हुने महिला टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।








प्रतिक्रिया