काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वक्षण संसदमा पेश गरेका छन् । बिहीबार आर्थिक सर्वोक्षण पेश गर्दै चालु आर्थिक वर्षको आर्थिक वृद्धि ४.६१ प्रतिशत रहने अनुमान रहेको बताए । नेपालको कुल गार्हस्थ उत्पादन ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने उनले बताए ।
प्रदेशगत रूपमा मधेस प्रदेश, कोसी प्रदेश र सुदूरपश्चिम प्रदेश बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत ४.६१ प्रतिशत भन्दा माथि रहेको उनले बताए ।
कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२.८३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२.०१ प्रतिशत रहने अनुमान छ।
यसससँगै नेपालीको प्रति व्यक्ति कुल राष्ट्रिय आय बढेर १,५१७ अमेरिकी डलर पुगेको छ। औसत उपभोक्ता मुद्रास्फीति ४.७२ प्रतिशत रहेको उनले बताए ।
चालु आर्थिक वर्षको फागुनसम्म संघीय सरकारको वित्त घाटा १६ अर्ब १९ करोड रहेको छ। संघीय सरकारको तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ४ करोड पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको ४३.८ प्रतिशत हो।
२०८१ फागुनमसान्तमा बैंङ्क तथा वित्तीय संस्थाको निक्षेप ९.५ प्रतिशत र बैंङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.७ प्रतिशतले बढेको अर्थमन्त्रीले बताए ।
चालु आबमा उद्योग विभाग र लगानी बोर्ड नेपालबाट रू.४७ खर्ब ६६ अर्ब बराबरको लगानी स्वीकृत भएको छ। वैकल्पिक ऊर्जा सहित ९९ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ ।
कुल जडित विद्युत् क्षमता ३ हजार ६०२ मेगावाट पुगेको छ। संघीय सरकारबाट निर्माण भएको रणनीतिक सडक सञ्जाल र स्थानीय सडक सञ्जाल गरी सडकको लम्बाई ३६ हजार १ सय ३२ किलोमिटर पुगेको छ। इन्टरनेट ग्राहकको घनत्व १४४.२३ प्रतिशत पुगेको छ भने ७२.० प्रतिशत घरधुरीमा डिजिटल टेलिभिजनको पहुँच पुगेको छ ।
मानव विकास सूचकांक बढेर ०.६२२ पुगेको उनले बताए । शैक्षिक सत्र २०८१ मा आधारभूत तह (कक्षा १–८) को खुद भर्ना दर ९४.१ प्रतिशत र माध्यमिक तह (कक्षा ९–१२) को खुद भर्ना दर ५५.८ प्रतिशत पुगेको छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको संख्या ३७ लाख ६ हजार ३ सय ८९ रहेको उनले बताए ।








प्रतिक्रिया