२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘नेपाली समाजलाई गहिरो प्रभाव पार्दै चलचित्र’



भारतीय टेलिभिजनमा आउने शृङ्खला भनौँ वा चलचित्रले अहिले विस्तारै हाम्रो संस्कृतिमा प्रभाव परिरहेको छ । यसले भाषामा पनि प्रहार गरेको छ

 

काठमाडौँ

‘टल्कजङ्ग भर्सेस टुल्के’ र ‘पशुपति प्रसाद’ जस्ता चलचित्रमा काम गरेपछि आफ्नो बेग्लै पहिचान बनाएका अभिनेता खगेन्द्र लामिछानेले चलचित्र प्रभावलाई आफैँले महसुस गरेको बताउछन् । “मेरो परिवारमा एक सदस्य हुनहुन्छ, जसले दक्षिण कोरियामा बनेका चलचित्र हेर्नुहुन्छ । उहाँ कोरिया जानुभएको छैन, तर भाषा आउँछ, उहाँको वेशभूषामा पनि कोरियन शैली झल्किन्छ । यो सब चलचित्रकै प्रभाव हो । त्यसकारण चलचित्र केवल मनोरञ्जनमा मात्र सीमित छैन, यसले कला, संस्कृति, भाषाको संरक्षण र प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ”, अभिनेता लामिछानेले भने ।

नेपाली भाषा, कला, संस्कृतिलाई प्रवद्र्धन गर्न चलचित्र सशक्त माध्यम हुनसक्ने अभिनेता लामिछानेको बुझाइ छ । विशेषतः स्वदेश र विदेशमै रहेका नयाँ पुस्तालाई नेपाल र नेपाली संस्कृतिसँग नजिक बनाउन चलचित्रको ठूलो भूमिका हुनसक्ने उनले बताएका छन् ।

“विदेशी चलचित्रले हामीलाई प्रभाव पार्न सक्छन् भने हामीले किन सक्दैनौँ ? तर, यो प्रयासलाई चलचित्रकर्मीले मात्र पूर्णता दिएर सफलता पाउन सक्दैन । राज्यले आवश्यक नीति र प्रोत्साहन दिनु आवश्यक छ । अन्य उद्योग वा क्षेत्रझैँ चलचित्रलाई प्राथमिकता दिएर प्रोत्साहन गरिने हो भने चलचित्रकर्मीको सक्रियता अझै बढ्छ”, अभिनेता लामिछानेले भने ।

भारतीय चलचित्रसँगै टेलिशृङ्खलाले पारिरहेको प्रभावलाई अभिनेता हरिवंश आचार्यले पनि महसुस गरेका छन् । उनले प्रत्यक्ष रूपमा अहिले विवाह संस्कार र संस्कृतिमा प्रभाव परेको बताए ।

“भारतीय टेलिभिजनमा आउने शृङ्खला भनौँ वा चलचित्रले अहिले विस्तारै हाम्रो संस्कृतिमा प्रभाव परिरहेको छ । यसले भाषामा पनि प्रहार गरेको छ । उदाहरणका लागि विवाह नै लिन सकिन्छ । पहिले र अहिले वैवाहिक कार्यक्रममा तपाईँले सहजै अन्तर देख्न सक्नुहुन्छ । त्यसले आर्थिक भार थपेको छ, अभिभावक देखासिकी गर्न बाध्य छन््”, अभिनेता आचार्यले भने ।

लिशृङ्खला वा चलचित्रलाई सरकारले भाषा र संस्कृतिको माध्यमका रूपमा बुझेर सघाउने नीति लिनुपर्नेमा उनले जोड दिएका छन् । पछिल्लो समय नेपालमा शृङ्खला निर्माण कम हुनुका कारण पनि लागत बढ्नु र प्रतिफल कम हुनु रहेको अभिनेता आचार्यको बुझाइ छ ।

 

अहिले चलचित्रमा महिला पनि ‘हिरो’ बन्न थालेकी छिन्, त्यो केही वर्ष अगाडि सम्भव थिएन

 

“चलचित्र निर्माणमा व्यक्ति वा समूहले योगदान दिनुभएको छ, यसले आफ्नो एउटा गति समातिरहेको छ । तर, पछिल्लो समय नेपालमा शृङ्खला निर्माणमा न्यूनता आएको मैले पनि महसुस गरेको छु । हामीकहाँ शृङ्खला निर्माण लागत बढेको र त्यसबापत प्राप्त हुने लाभ कम भएकाले निर्माणमा कमी आएको हुनसक्छ । विदेशमा रहेका उद्योगले प्रायोजन गरेर शृङ्खला निर्माणमा सघाउने गरेको सुन्छु । तर, यहाँ त्यो अवस्था छैन भन्दा फरक नपर्ला”, अभिनेता आचार्यले भने ।

चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले देशमा गणतन्त्र आइसकेपछि नेपाली चलचित्रमा समाज र समुदायको कथा उठान गरिएको बताएका छन् । उनले भने, “विषयवस्तुमा परिवर्तन आएका छन्, जनतासँग प्रत्यक्ष जोडिएका विषय अहिले चलचित्रमा हेर्न पाइन्छ । अभिनेताको भाष्यमा परिवर्तन आएको छ । व्यक्तिगत प्रयासबाट बन्ने चलचित्रलाई प्रवद्र्धन गर्न सरोकारवाला निकाय सदैव अग्रसर हुनुपर्छ । किनकि चलचित्रले अहिले पनि विदेशमै हुर्किएका नयाँ पुस्तालाई देश, कला र संस्कृतिका बारेमा जानकारी दिइरहेको छ ।”

अभिनेत्री केकी अधिकारीले पछिल्लो समय चलचित्रमा आफ्ना भावनालाई सजिलै व्यक्त गर्न सकिने बताइन् । “हामीले कलालाई विद्रोह र स्वतन्त्रताका रूपमा पनि बुझ्ने गरेका छौँ । किनकि लोकतन्त्र वा गणतन्त्र आउनु अगाडि आफ्ना अभिव्यक्तिलाई कलाकै मार्फतले उजागर गर्ने गरेका थियौँ । अभिनेताको भाष्यमा परिवर्तन आएर अहिले चलचित्रमा महिला पनि ‘हिरो’ बन्न थालेकी छिन्, त्यो केही वर्ष अगाडि सम्भव थिएन”, अभिनेत्री अधिकारीले भनिन ।

विसं २०८१ मा अभिनय गर्नुभएको चलचित्र ‘बोक्सीको घर’ले सामाजिक कुप्रथाको विषयलाई उजागर गरेको थियो । उक्त चलचित्रले सामाजिक चेतना बढाउन सघाएको अभिनेत्री अधिकारीको विश्वास छ ।

केही वर्षयता विदेशी चलचित्रमा आफ्ना इतिहास, देशका लागि गौरव गर्ने योद्धा तथा देशले विजय हासिल गरेको घटनाक्रमलाई लिएर चलचित्र निर्माण गर्ने क्रम बढेको छ । यसले देशको इतिहास, उपलब्धि, देश निर्माणमा प्राण समर्पित गरेका योद्धाका विषयमा बुझ्न् मद्दत गर्नुका साथै गौरवशाली वीरताको गाथालाई चलचित्रप्रेमी दर्शकसम्म पुर्याइरहेको हुन्छ ।

चलचित्र एक सशक्त माध्यम हो । जसले भाषा र संस्कृतिको प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पुर्याउनुका साथै सांस्कृतिक पहिचानलाई विश्वव्यापी रूपमा चिनाउन सक्ने क्षमता राख्छ । पछिल्लो समय चलचित्रलाई ‘सफ्ट पावर’ पनि गरिन्छ, जसले हाम्रो सोचसँगै भाष्य निर्माणमा सुक्ष्म तरिकाले काम गरिरहेको हुन्छ ।

 

प्रकाशित मिति : १९ जेष्ठ २०८२, आइतबार  ९ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।