२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरमा बजार अनुगमन गर्दा कुहिएका खाद्यवस्तु छ्यापछ्याप्ती भेटिए



भक्तपुर । भक्तपुर नगरपालिकाले गरेको बजार अनुगमनका क्रममा अधिकांश व्यवसायीले खरिद बिक्री बिल प्रयोग नगरी मूल्य अभिवृद्धि कर (भ्याट) तथा राजस्व छली गरिरहेको भेटिएको छ।

बुधबार नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा च्याम्हासिंह क्षेत्रका १० फलफूल तथा खाद्य पसलमा गरिएको आकस्मिक अनुगमनमा यस्तो भेटिएको भएको हो।

अनुगमनका क्रममा बिल जारी नगर्ने प्रवृत्ति व्यापक पाइएको संयोजक गोराले बताए। उनका अनुसार, बिलबिनै कारोबार गरी राजस्व छल्नुका साथै पसल दर्ता तथा नवीकरण नगर्ने, म्याद गुज्रिएका सामान बिक्री गर्ने, कुहिएका फलफूल उपभोक्तालाई भिडाउने र तराजु नवीकरण नगर्ने जस्ता गम्भीर लापरबाहीसमेत भेटिएको छ।

अनुगमनमा परेको के.ओ.डि. स्टोरले भ्याटमा दर्ता भएर पनि भ्याट बिल प्रयोग नगरेको, खरिद बिक्री खाता नराखेको र कम्प्युटर बिलिङ सिस्टमको स्वीकृति नलिई राजस्व छलेको पाइएपछि राजस्व कार्यालयले जरिवानासहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ।

सोही पसलबाट म्याद गुज्रिएका म्यागी सस (ठूलो ५, सानो ७ वटा) र मोसरुम (३ बट्टा) जफत गरी तत्काल नष्ट गरिएको थियो।

राज स्यामाजी स्टोर विगत दुई-तीन वर्षदेखि नवीकरण नभएको, मूल्यसूची नराखेको र तराजु नवीकरण नगरेको पाइएपछि तीन दिनभित्र सम्पूर्ण प्रक्रिया पूरा गरी नगरपालिकामा उपस्थित हुन निर्देशन दिइएको छ।

त्यसैगरी, मुकेश फलफूल पसल दर्ता नवीकरण नभएको, कुहिएको केरा, आँप, मेवा लगायत १४ केजी फलफूल बिक्रीका लागि राखेको र तराजु नापतौल विभागमा नवीकरण नगरेको पाइएपछि तराजु जफत गरी फलफूल नष्ट गरिएको छ।

पसललाई तीन दिनभित्र नवीकरण गरी नगरपालिकामा हाजिर हुन भनिएको छ। न्यू ब्रम्हायणी जुस एण्ड फ्रुट सेन्टरबाट पनि ४ दर्जन कुहिएको केरा तथा आँप र मेवा १० केजी जफत गरी नष्ट गरिएको छ भने सञ्चालकलाई तीन दिनभित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिइएको छ।

सृष्टि फ्रुट सेन्टर र ख्वप फलफूल तथा जुस पसलले पनि नवीकरण नगरेको र क्रमशः ५ केजी तथा आँप १० केजी, केरा ८ दर्जन, मेवा ४ केजी कुहिएको फलफूल बिक्रीमा राखेको भेटिएपछि उक्त परिमाण नष्ट गरी सञ्चालकहरुलाई तीन दिनभित्र प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बुधबार  ९ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।