काठमाडौँ
चलचित्र निर्माण समूह र कलाकारले ‘दर्शक’सँगै बसेर नेपाली चलचित्र ‘जन्ते बाख्रो’ हेरेका छन् । समग्रमा दर्शकको प्रतिक्रिया बुझ्ने उद्देश्यले आफूहरू चलचित्र हेर्न आएको अभिनेता आशिफ शाहले बताएका छन् ।
“चलचित्रका निर्माण समूह र हामी कलाकार विभिन्न चलचित्र भवनमा पुगेर दर्शकसँग प्रत्यक्ष प्रतिक्रिया लिइरहेका छौँ । हामीले कल्पना गरेर तयार गरेको कथा–पटकथासहितको दृश्यलाई दर्शकले कसरी बुझ्नुभएको छ, भन्ने जिज्ञासा मेटिएको छ । दर्शक प्रतिक्रियाबाट हामी खुसी छौँ ।” अभिनेता शाहले भने ।
अभिनेता शाह झैँ अभिनेता सौगात मल्ल पनि दर्शकले दिएको प्रतिक्रियाले आफ्नो मेहनतको प्रतिफल पाएको बताउछन् । “यस आगाडिका चलचित्रभन्दा फरक देखिने कोसिस गरेको थिएँ । म आफ्नो मेहनतमा सफल भएँ जस्तो लागेको छ, किनकि दर्शकले मलाई यस्तो शैलीको भूमिका पनि सुहाउने प्रतिक्रिया दिनुभयो”, अभिनेता मल्ले भने ।
ग्रामीण परिवेश र जीवनलाई प्रस्तुत गरिएको चलचित्रमा बेहुली लिएर फर्किएको बेहुलासहितको जन्तीलाई बेहुली पक्षले बाटोमा भोज गर्न दिएको खसी वा बेहुली भित्राएपछि हुने भतेर ९भोज० ‘जन्ते बाख्रो’ को प्रशङ्ग जोडेर कथा तयार गरिएको उनले जानकारी दिएका छन् ।
“‘जन्ते बाख्रो’ मा मैले आफ्नो पात्रलाई बुझ्न र त्यसलाई निर्माण गर्न मौका पाएँ । लेखकसँग छलफल गरेर पात्रलाई निर्माण गर्न पाएकाले यो फरक देखिएको छ”, उनले भने ।
पछिल्लो समय ‘पार्टी प्यालेस’ मा विवाह गर्ने प्रचलन बढेसँगै ‘जन्ते बाख्रो’ खाने परम्परा हराउँदै गएको सन्दर्भमा चलचित्रले मनोरञ्जनसँगै सामाजिक रीतिथिति बुझाउने उनको भनाइ छ ।
प्रदीप भारद्वाजको लेखनमा तयार भएको चलचित्रमा अभिनेता मल्ल र शाहसँगै अभिनेत्री गरिमा पन्त, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारले अभिनय गरेका छन् । मुइन इन्टरटेनमेन्ट प्रालिका तर्फबाट सन्तोष गौतमले चलचित्र निर्माण गरेका हुन् ।








प्रतिक्रिया