२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अनेरास्ववियुको नयाँ नेतृत्वका लागि प्रकाश पौडेल र डा सुजन कडरियाबीच कडा प्रतिश्पर्धा मतदान हुँदै



काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुने भएको छ ।
बिहान ८ देखि अपराह्न ४ बजेसम्म निर्वाचन हुने कार्यतालिका रहेको महाधिवेशन अध्यक्ष मण्डलका सदस्य माधव ढुङ्गेलले जानकारी दिएका छन् । मतदान विद्युतीय मेसिनबाट हुनेछ ।
उनका अनुसार बुधबार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक र विद्युतीय मेसिनलाई उम्मेदवारीका नाम राख्ने काम सम्पन्न भइसकेको छ । २४औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि प्रकाश पौडेल र डा सुजन कडरियाले उम्मेदवारी दिएका छन् । एकजना खुला उपाध्यक्षमा विकास श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी, धर्मेन्द्र केसी, गणेशबहादुर शाहीले उम्मेदवारी दिएका छन् ।
यसैगरी, एक महिला उपाध्यक्षमा सुजिता धिताल, अञ्जना सिवाकोटी, भवानी बजगाईं र आरती भट्टराईले उम्मेदवारी दिएका छन् । महासचिवमा आरके रोमश, दीपक धामी र सुनिल कँडेलले उम्मेदवारी दिएका छन् ।
अनेरास्ववियुका निवर्तमान अध्यक्ष समिक बडालले छिटोछरितो बनाउने र कागजको मतपत्रको झन्झट हटाउनका लागि विद्युतीय मेसिनबाट मतदान गर्न लागिएको जानकारी दिए । राम–लक्ष्मण इनोभेसनका सञ्चालक लक्ष्मण रिमालले निर्वाचनमा ४३ वटा मेसिन प्रयोग गरिने जानकारी दिएका छन् ।
महाधिवेशनमा करिब एक हजार ५४३ जना प्रतिनिधिले मतदान गर्नेछन् । हाल विभिन्न पदमा ५ सय १९ जना उम्मेदवार भएकाले एक जनालाई कम्तीमा १५ देखि २० मिनेट मतदान गर्न  समय लाग्ने जनाइएको छ । अनेरास्ववियुमा पहिलोपटक ३२ वर्ष उमेर हदअनुसार निर्वाचन हुँदैछ । महाधिवेशन यही जेठ २५ देखि सुरु भएको हो ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, बिहिबार  ७ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।