२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अख्तियारको अनुसन्धानमा खुला हृदयले सहयोग गर्छु : गृहमन्त्री



काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसासँग जोडेर आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्ण ढङ्गबाट राजनीतिक रूपले आक्रमण गर्ने प्रत्यत्न भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले भिजिट भिसासम्बन्धी घटनामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारे । गृहमन्त्री लेखकले भने, “भिजिट भिसासम्बन्धी प्रकरणमा मेरो संलग्नता छैन, हुनै सक्दैन, ममाथि लगाइएको आरोपप्रति खेद व्यक्त गर्न चाहन्छु ।”

भिजिट भिसासम्बन्धी प्रणाली विगत लामो समयदेखि लागू हुँदै आएको जानकारी दिँदै उनले आफ्नो कार्यकालभन्दा अघिल्ला मन्त्रीका पालामा बढी व्यक्ति भिजिट भिसामा विदेश गएको तथ्याङ्क प्रस्तुत गरे । गृहमन्त्री लेखकले भने, “नियोजित, षड्यन्त्रपूर्ण ढङ्गले राजनीतिक चरित्रहत्या र राजनीतिक प्रतिशोध पूरा गर्नका लागि उठाइएका विषय हुन्, यस्ता निकृष्ट खाले प्रवृत्ति अन्त्य गर्नुस् म यो चाहन्छु ।”

संवैधानिक निकायले छानबिन गरिराखेको अवस्थालाई सरकारसँग जोड्ने हो भने विगतमा कति मन्त्रीहरूले राजीनामा र जवाफ दिनुभएको थियो भनी प्रश्न गर्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हुने कुनै पनि कामकारबाहीलाई आफूले खुला हृदयले सहयोग गर्ने विश्वास दिलाए ।

लोकतन्त्र र विधिको शासनलाई सुदृढ तुल्याउन आफू निरन्तर लागिरहेको जनाउँदै गृहमन्त्री लेखकले आयोगको छानबिन र कारबाहीलाई कसैले पनि प्रभावित हुन दिन नहुने बताए । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई सोधपुछका लागि आयोगले बोलाएको विषय सञ्चारमाध्यमबाटै थाहा पाएको उनले स्पष्ट पारे । गृहमन्त्री लेखकले अध्यागमन विषयमा देखिएका समस्या समाधान गर्न नीतिगत, कानुनी र संरचना गत सुधारका एक महिनाभित्रै काम थालनी गर्ने विश्वास दिलाए ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शुक्रबार  ७ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।