काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–४, पासिकोटस्थित थ्रिस्टार किड्जोन स्कुलको कम्पाउण्डभित्र रहेको साढे दुईतले घरमा एक पुरुष र एक महिलाको शव फेला परेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार, शुक्रबार राति करिब पौने १० बजे शव फेला परेको हो । मृतकमा ५४ वर्षीय भारतीय नागरिक परम नारायण गिल र २८ वर्षीया अन्जना तामाङ रहेका छन् ।
परम नारायण चन्डिगढ, पञ्जाबका हुन् भने अन्जना धादिङ गल्छी गाउँपालिका–६ की हुन् । उनी सोही घरमा कामदारका रूपमा बस्दै आएकी थिइन् । परम नारायणले उक्त घरको पहिलो तलाको कोठा भाडामा लिएका थिए । उनी पेशाले वेडिङ फोटोग्राफर हुन् र नेपाली महिलासँग विवाह गरेका थिए । उनका श्रीमती हाल टर्कीबाट फर्किसकेकी छन् ।
प्रहरीका अनुसार कोठा भित्रबाट बन्द थियो । प्रहरी वृत्त महाराजगन्जबाट टोली खटिएर ढोका फोडेर प्रवेश गरेको थियो । कोठाभित्र अन्जनाको शव सोफामा भेटिएको थियो । उनको टाउकोमा चोट लागेको देखिएको छ ।
परम नारायण भने भुइँमा मृत फेला परेका छन् । उनको शरीरमा कुनै चोट देखिएको छैन । घटनास्थलबाट एउटा ह्याम्मर र विषादीको बट्टा पनि फेला परेको प्रहरीले जनाएको छ । साथै कोठामा रहेको कुकुर पनि मरेको छ । प्रहरीले प्रारम्भिक रूपमा हत्यापछि आत्महत्या भएको हुनसक्ने अनुमान गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ भने शवहरू पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।








प्रतिक्रिया