२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘नाम–ओती’को विशेष प्रदर्शन



काठमाडौं । नेपाली चलचित्र ‘नाम–ओती’ राजधानीको बिग मुभिज हलमा एक विशेष समारोहका बीच प्रदर्शन गरिएको छ। नाङ्जङ फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण गरिएको फिल्ममा लिम्बू समुदायको परम्परा, संस्कृति र ग्रामीण जीवनशैलीका विविध आयामहरू उजागर गरिएको छ।

निर्माण कम्पनीका अनुसार चलचित्रको कथा समाजमा देखा पर्ने मादक पदार्थ दुरुपयोग, पारिवारिक विघटन, र त्यसपछि हुने आत्मबोध र सुधारको प्रक्रियामा आधारित छ। कथाअनुसार, एक युवा मादक पदार्थको लतमा फसेपछि उसले परिवार र समाजसँगको सम्बन्ध बिगार्छ। जब पत्नीले छाडेर जान्छिन्, त्यसपछि मात्र ऊ आफैंलाई बुझ्न थाल्छ। पश्चातापपछि उसले आफूलाई सुधारेपछि समाज सेवामा होमिन्छ र स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा अध्यक्ष पदमा विजयी हुन्छ।

चलचित्रमा नेपाल पत्रकार महासङ्घ तेह्रथुमका अध्यक्ष टिआर सेनेहाङ र कलाकार पूर्ण साँवा प्रमुख नायकको भूमिकामा छन्। हाङमा थेबे र रुबिना श्रेष्ठ मुख्य नायिकाका रूपमा देखिएका छन्। अन्य कलाकारहरूमा दुर्गा ईङ्नाम, सङित आङ्खेवा, ज्योती लिम्बु, कुमारी लिङ्देन, हस्तमाया फुरुम्बो, देउमान लिम्बु, डम्बर श्रेष्ठ, अनिता श्रेष्ठ, टेकराज तिगेला, पदममाया लिम्बु लगायत कोशी प्रदेशका विभिन्न जिल्लाका स्थानीय कलाकारहरूको उल्लेखनीय सहभागिता रहेको छ।

चलचित्र दिलिप फुरुम्बोको निर्देशनमा तयार भएको हो। निर्माताका अनुसार चलचित्र कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा प्रदर्शन गरिनेछ भने विदेशमा रहेका नेपाली समुदायबीच पनि प्रदर्शनको तयारी भइरहेको छ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ३ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।