काठमाडौं । चर्चित गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीले सामाजिक सञ्जालमा दुव्र्यवहार गर्ने प्रयोगकर्ताविरुद्ध सुरु गरेको ‘प्रोफाइल सार्वजनिक अभियान’ औपचारिक रूपमा अन्त्य भएको छ। गायिका चौहानले एक भिडियो सन्देशमार्फत अभियान समाप्त भएको घोषणा गरेकी हुन्।
केही दिनयता चौहान र अधिकारीले अभद्र गाली, छुद्र शब्द र अश्लील सन्देश पठाउने प्रयोगकर्ताका फेसबुक प्रोफाइलहरू सार्वजनिक गरिरहेका थिए। व्यक्तिगत आत्मसम्मान, मानसिक स्वास्थ्यमा असर गर्ने व्यवहारको विरोधस्वरूप उनीहरूले सामाजिक सञ्जालमै आवाज उठाएका थिए।
प्रोफाइल सार्वजनिक भएपछि धेरै प्रयोगकर्ताले माफी माग्दै सन्देश हटाएका थिए। चौहानले भनेकी छन्, ‘हामी गाली खान कलाकार भएका होइनौं, तपाईंहरूलाई मनोरञ्जन दिन कलालाई जीवन बनाएका हौं।’
उनले आक्रोश पोख्ने, रक्सी खाएर फ्रस्टेसन निकाल्ने माध्यम आफूहरू कलाकार नभएको प्रस्ट पार्दै भनेकी छन्, ‘हाम्रो व्यक्तिगत जीवनलाई जज गर्ने घाँसजस्ता मान्छे चाहिंदैन, थोरै होस् तर बुझ्ने मान्छे होस्।’
चौहानले चेतावनी दिँदै भनिन्, अब पनि दुव्र्यवहार बन्द नभए कानुनी उपचारको बाटो रोज्नेछौं। ‘अब उजुरी गर्न प्रहरी चौकी जानु पर्दैन, मेल गरेर पनि उजुरी दिन सकिन्छ,’ भन्दै उनले सबैलाई सचेत हुन आग्रह गरेकी छन्।
चौहान र अधिकारीको यो अभियानको चौतर्फी प्रशंसा भइरहेको छ। यसअघि अभिनेत्री ऋचा शर्मा, मोडल प्रिन्सी–प्रिज्मा खतिवडा लगायत कलाकारहरूले पनि आफूविरुद्ध आएको अभद्र टिप्पणी सार्वजनिक गर्दै विरोध जनाएका थिए।








प्रतिक्रिया