२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘एक्टर: टेक वान’ भारतीय हलहरूमा प्रदर्शन हुने



काठमाडौं । गत माघमा नेपालमा प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वान’ अब भारतीय हलहरूमा पनि प्रदर्शन हुने भएको छ । भारतमा रहेका नेपाली भाषी दर्शकलाई लक्षित गर्दै नेपाली भाषामै चलचित्र प्रदर्शन गरिने भएको हो ।

भारतीय वितरक शान्ति डिस्टिब्युटर्सको सहकार्यमा चलचित्र मुम्बइ, चेन्नइदेखि लिएर दार्जिलिङ, सिक्किमसम्म प्रदर्शन गरिने निर्माता थमन कुमार भण्डारीले जानकारी दिए । उनका अनुसार चलचित्र नेपालमा प्रदर्शन हुनु अघिकै समय भारतमा पनि रिलिज गर्ने योजना बनाइएको थियो, तर सेन्सर पासको प्रक्रिया ढिलो भएपछि भारतमा अब प्रदर्शन गर्न लागिएको हो ।

नेपालमा प्रदर्शनको पूर्वसन्ध्यामा ‘एक्टर’ नामबारे विवाद उठेको थियो । माघ १६ गते प्रदर्शनको तयारीमा रहेका बेला निर्माता सम्राट थापाले नाम चोरीको आरोप लगाउँदै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । अदालतले प्रदर्शन रोक्न आदेश दिएपछि चलचित्र तीन दिनपछि, माघ १८ गते प्रदर्शनमा आएको थियो । भण्डारी र थापाबीच १५ लाख रुपैयाँको चेकमार्फत आपसी सहमति भएको थियो ।

भण्डारीका अनुसार तीन दिनको रोकावटले मात्रै ४० लाख नगद घाटा भएको थियो । प्रदर्शनपछिको व्यापार पनि कमजोर रह्यो । चलचित्र विकास बोर्डको तथ्यांक अनुसार चलचित्रले एक करोड दुई लाख रुपैयाँ ग्रस कारोबार गरेको छ । भण्डारीले झण्डै साढे तीन करोड रुपैयाँ लगानी भएको दाबी गरेका छन् । त्यसको आधारमा चलचित्र घरेलु बक्स अफिसमा असफल भएको देखिन्छ ।

आफ्नो चलचित्र असफल हुनुमा निर्माता सम्राट थापालाई दोष दिँदै भण्डारीले पुनः अदालतमा मुद्दा दायर गरेका छन् । भण्डारीका अनुसार, ‘हामीलाई ट्र्यापमा पारेर अनुचित लाभ लिने प्रयास भयो । हामी अप्ठ्यारोमा परेका कारण १५ लाखको चेक दिन बाध्य भयौं । अहिले त्यस चेकको बदर र क्षतिपूर्ति सम्बन्धी मुद्दा चलिरहेको छ ।’

भविष्यमा भारतपछि अन्य देशहरूमा पनि चलचित्र प्रदर्शन गर्ने र नेपालमा पनि भदौ वा असोजमा पुनः प्रदर्शन गर्ने योजना रहेको उनले बताएका छन् ।

चलचित्रमा प्रदीप खड्का, दिव्या रायमाझी, आना शर्मा, राजबल्लभ कोइरालालगायत कलाकारको अभिनय रहेको छ ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  १ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।