काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेस सांसद रामहरि खतिवडा र रास्वपाका सांसद् डीपी अर्यालबिच चर्काचर्की भएको छ ।
कांग्रेसका सांसद रामहरि खतिवडाले शनिबार उठाएको विषयलाई लिएर रास्वपाका सांसद डीपी अर्यालले आपत्ति जनाएका हुन्।
पहिला बोलेका अर्यालले आरोप लगाउन थालेपछि कांग्रेस सांसद खतिवडा बिचमै उठेका थिए । तर सभामुख देवराज घिमिरेले खतिवडालाई रोकेर अर्यालको समय सकिएपछि बोल्न दिए ।
आर्यालले भने, ‘मलाई दया लाग्छ २०४८/४९ सालतिर मन्त्रीका पिए बसेर कागज किर्ते गरेर विदेश मान्छे पठाउने काम गरेबापत हनुमान ढोकाको चिसो छिँडीमा धेरै रात बिताएकाहरू पनि आज यही सदनमा संसद् भएर बसिरहेका छन् । अरूलाई आक्षेप लगाउनेहरू भिसा पाए भने आफैँ टाप कस्लान् । सुमिरे टुर्स एन्ड ट्राभल्स मेरो कम्पनी हो । म यही देशका केही गरेर खाने मान्छे हुँ। चोरेर खाने मान्छे होइन ।’
अर्यालले आफ्नो कम्पनीबाट भिजिट भिसामा बाहिर गएको मान्छेहरु फर्केका छैनन् भने प्रमाण पेस गर्न चुनौती समेत दिए। ‘मेरो कम्पनी मात्र एक जना मान्छे भिजिट भिसामा जापान मात्र होइन संसारको कुनै देश गएको छ’, उनले भने, ‘हामीले पैसा लिएका छौँ र फर्केका छैनन् भने प्रमाण पेस गर्न म चुनौती दिन्छु । होइन भने निराधार आरोप संसद्को रेकर्डबाट हट्नुपर्छ । सभामुखज्यूबाट रुलिङको माग गर्दछु ।’
अर्यालले बोलेपछि सभामुख घिमिरेले रामहरि खतिवडालाई बोल्ने समय दिएका थिए। अर्यालले चोरको खुट्टा काट भन्दा खुट्टा झिके जसरी केही माननीयहरू प्रस्तुत भएको बताए।
खतिवडाले भने,’हामीले कुनै माननीयको नाम किटान गरेर भनेका थिएनौँ । चोरको खुट्टा काट भन्दा खुट्टा झिके जसरी केही माननीयहरू प्रस्तुत हुनुभयो । हामीले कुनै पनि संस्थालाई छानबिन गर्नुपर्छ भन्दा किन ठुलो स्वरले संसद् थर्काइन्छ महोदय रु म अनुरोध गर्न चाहन्छु- कुनै बेला हामी अदालतबाट निर्दोष भएर संसद्मा प्रतिनिधित्व गरेका छौँ । तर आज दोषी भएका मानिसहरू ठुलो स्वरमा कराउँदाखेरि यहाँ आपत्ति छ । हामीले निष्पक्ष छानबिन हुनुपर्छ भनेका थियौँ ।’







प्रतिक्रिया