ललितपुर । काठमाडौंको चोभारस्थित गल्छीमा डाँडा काट्ने तथा ढुंगा फुटाउने सरकारको पछिल्लो योजनाले विवाद सृजना गरेको छ। सहरी विकास मन्त्रालयले चोभारको गल्छी साँघुरो भएकाले बाढीको जोखिम कम गर्न पाँचवटा ढुंगा फुटाउने तयारी गरिरहेको बताएको छ। मन्त्रालयका अनुसार नेपाली सेनाको सहयोगमा नदीलाई गहिरो पार्न ढुंगा काट्ने योजना अघि बढाइएको हो।
तर यो योजनाको विरुद्धमा स्थानीय तह, सम्पदाविद् र विज्ञहरू उत्रिएका छन्। कीर्तिपुर र ललितपुर महानगरपालिकाले गल्छीमा ढुंगा फुटाउन नदिने अडान लिएका छन्। कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोल र ललितपुरका मेयर चिरिबाबु महर्जनले सम्पदा संरक्षणका दृष्टिकोणले चोभार अति संवेदनशील क्षेत्र भएकाले कुनै पनि प्रकारको डाँडा काट्ने वा ढुंगा फुटाउने कार्य स्वीकार्य नहुने बताएका छन्।
यातायात विज्ञ आशीष गजुरेलले गल्छी काटेर जलमग्न समस्या समाधान नहुने भन्दै यस्तो योजना मूर्खता भएको टिप्पणी गरेका छन्। सम्पदाविद्हरूले उपत्यकाका बस्तीहरू जलमग्न हुनुमा चोभारको गल्छी नभई अन्य कारण रहेको तर्क गरेका छन्।
सरकारी योजना अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको नेतृत्वमा अगाडि बढाइएको हो। समितिका इन्जिनियर उद्धव नेपालका अनुसार, अध्ययनले ढुंगा फुटाउनुपर्ने निष्कर्ष निकाले पनि डाँडा काट्ने योजना भने नरहेको दाबी गरिएको छ।
तर, स्थानिय बासिन्दाले कालो ब्यानरसहित विरोध जनाउँदै योजनाको पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका छन्।








प्रतिक्रिया