काठमाडौं । सुनचाँदी पसलमा नक्कली तिलहरी धितो राखेर ११ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ की ४२ वर्षीया दिलमाया मगर रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
दिलमाया हाल भक्तपुरमा बस्दै आएकी थिइन्। उनी बुद्धनगरस्थित एक सुनचाँदी पसलमा छड्के तिलहरी धितो राखी रकम उठाएको आरोपमा पक्राउ परेकी हुन्।
प्रहरीका अनुसार आइतबार उनी अर्को पसलमा पनि गहना धितो राख्न पुगेकी थिइन्। शंका लागेपछि पसलेले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले उनलाई पक्राउ गरेको हो।
दिलमायाले आफू ‘प्रहरी’ भएको भन्दै प्रहरी सहायक निरीक्षक (असई)को फोटो देखाएर विश्वास दिलाउने प्रयाससमेत गरेको प्रहरीको भनाइ छ।
हाल उनलाई ७ दिनको म्याद लिई ठगी मुद्दामा अनुसन्धान भइरहेको छ। प्रहरीले यस घटनालाई संगठित ठगीको आशंकामा पनि विस्तृत रुपमा अनुसन्धान अघि बढाएको छ।








प्रतिक्रिया