सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ एमालेभित्र गुट हुन नहुने तर्क गरेका छन् ।
गुरुङले रामेछाप गुगेर बोल्दै नेकपा एमालेमा अहिले केपी ओली वा विद्या भण्डारी भनेर दौडने बेला नभएका बताएका हुन् ।
नेकपा एमाले मंगलबार मन्थलीमा आयोजना गरेको राजनीतिक तथा सांगठनिक क्षमता अभिवृद्धिका लागि जिल्ला स्तरीय कार्यशालामा बोल्दै नेकपा एमालेका उपमहासचिव समेत रहनुभएका गुरुङले अहिले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बेला भएको बताए । पार्टी माथि चौतर्फी हमला भइरहेको बेला पार्टी भित्रै यो र त्यो भनेर बहस चलाउनु उचित नहुने उपमहासचिव गुरुङको धारणा छ । ‘अहिले केपी ओली र विद्या भण्डारी भनेर दौडने बेला होइन, पार्टी माथि चौतर्फी हमला भइरहेको छ, एमाले माथिको आक्रमण रोक्ने बेला आफैँ भित्र प्रतिष्पर्धा गरेर पार्टीलाई कमजोर बनाउनु हुँदैन’, उनले भनेका छन् ।
गुरुङले नेतृत्वको बहस महाधिवेशनको बेला हुने बताए । ‘यस विषयमा हामीले महाधिवेशनको बेला बहस गर्ने छौँ, महाधिवेशनमा हामी सही निर्णय गर्ने छौँ, नेताहरूले रहर गरेर मात्र जिम्मेवारी पाइँदैन, समयको माग र आवश्यकताले निर्णय गर्छ, त्यसैले तपाईँहरू केपी ओली कि विद्या भण्डारी भनेर दौडनु पर्दैन’, उनले भने ।
पार्टीको नेता कार्यकर्ताले पत्याएको, कार्यकर्ताले अनुमोदन गरेको र जनप्रतिनिधि जनताबाट अनुमोदित हुनुपर्ने स्पष्ट पारे । कसैले टिको लगाइदिएर नेतृत्वमा नपुगिन उनको धारणा छ । ‘पार्टीले टिको लगाइदिने व्यवस्था होइन हाम्रो, यो कुराको अभ्यास हामीले ठिक ढङ्गले गरेका छैनौँ भन्ने आत्मालोचना हो मेरा, दायाँबायाँ, नातावाद, कृपावादले समाजवादको लक्षमा पुग्न सकिँदैन’, उनले भने ।








प्रतिक्रिया