भक्तपुर । भक्तपुर जिल्ला एचआईभी संक्रमण र लागुपदार्थ दुर्व्यसनको उच्च जोखिममा परेको छ। राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र (एनसीएएससी) को सन् २०२४ को तथ्यांक अनुसार कलेज पढ्ने उमेरका हरेक १० युवामध्ये २ जना लागुपदार्थ दुर्व्यसनमा फसेका छन्। यो तथ्याङ्कले भक्तपुरमा सार्वजनिक स्वास्थ्य संकट चुलिँदै गएको देखाएको छ।
केन्द्रका अनुसार हाल भक्तपुरमा १ हजार ३१२ देखि १ हजार ५३७ जनासम्म सुईमार्फत लागुपदार्थ प्रयोगकर्ता छन्। तीमध्ये पुरुष प्रयोगकर्ता १ हजार १६५ देखि १ हजार ३८२ जनाको हाराहारीमा छन् भने महिला प्रयोगकर्ता १४७ देखि १५५ जनासम्म छन्। सुईको साझा प्रयोग र असुरक्षित तरिकाले लागुपदार्थ सेवन गर्ने प्रवृत्तिका कारण एचआईभी संक्रमणको जोखिम झनै बढेको जनस्वास्थ्य विज्ञहरूले बताउँदै आएका छन्।
भक्तपुरमा महिला, पुरुष तथा तेस्रो लिङ्गी यौनकर्मीहरूको संख्याले पनि एचआईभी संक्रमणको सम्भावना उच्च रहेको देखाएको छ। एनसीएएससीका अनुसार जिल्लामा ४ हजार ८१८ देखि ५ हजार ४३४ महिला यौनकर्मी रहेका छन्। त्यस्तै ४२६ देखि ५०० पुरुष यौनकर्मी र २६१ देखि ३२५ तेस्रो लिङ्गी यौनकर्मी छन्।
भक्तपुरमा पुरुषसँग यौन सम्बन्ध राख्ने पुरुष (MSM) को संख्या पनि ६३८ देखि ७०४ को हाराहारीमा रहेको छ। यौनकर्मी, तिनीहरूका ग्राहक तथा सुईमार्फत लागुपदार्थ प्रयोगकर्ताहरू संक्रमणको जोखिममा रहेका कारण यस क्षेत्रमा सावधानी र सचेतना अपरिहार्य भएको विज्ञहरू बताउँछन्।








प्रतिक्रिया