१६ माघ २०८२, बिहिबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


हुम्ला राष्ट्रिय सडक सञ्जाल जोडियो, उद्घाटन गर्न पुगेका प्रधानमन्त्री ओलीलाई स्थानीयले गरे बाजागाजासहित स्वागत



काठमाडौं
हुम्ला जिल्ला राष्ट्रिय सडक सञ्जाल जोडिएको छ । सडक उद्घाटन गर्न पुगेका प्रधानमन्त्री केपी ओलीलाई स्थानीयले गरे बाजागाजासहित स्वागत गरेका छन् ।

बेलिब्रिजको उद्घाटन गर्न प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरमा आज काठमाडौँबाट सुर्खेत हुँदै खार्पुनाथ पुगेका हुन् । प्रधानमन्त्री ओली यहाँ आइपुग्नुहुँदा स्थानीयले बाँजागाँजासहित स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओलीले खार्पुनाथ गाउँपालिका–५ चुवाखोलामा आज एक समारोहबीच बेलिब्रिजको उद्घाटन गर्दै कर्णाली करिडोरअन्तर्गत पर्ने चुवाखोलामा छिट्टै पक्की पुल निर्माण गरिने बताएका छन् । प्रधानमन्त्री ओलीले हुम्ला सदरमुकाम सिमकोट औपचारिक रुपमा राष्ट्रिय सडक सञ्जालसँग जोडिएकामा खुशी व्यक्त गरे ।

प्रधानमन्त्री ओलीका साथमा रक्षामन्त्री मानवीर राई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, नेकपा ९एमाले० का उपमहासिचव प्रदीप ज्ञवाली, कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेल, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्मालगायत हुम्ला पुगेका थिए । कर्णाली करिडोर निर्माण आरम्भ भएको २६ वर्षपछि हुम्ला सदरमुकाम सिमकोट औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ ।

हुम्लालाई सडक सञ्जालसँग जोड्न नेपाली सेनाले गत वर्ष चैत १० गतेदेखि चुवाखोलामा बेलिब्रिज जडान गर्न सुरु गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइने बताएका छन् । प्रधानमन्त्री ओलीले कर्णाली करिडोर कर्णाली र हुम्लावासीको मात्र नभई दुई छिमेकी देशसँगको व्यापाररिक मार्ग भएकाले यसलाई तत्काल दुई लेनको बनाइनुका साथै कालोपत्र गर्दै लैजाने बताएका छन् ।

हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग तथा त्रिदेशीय सीमासँग जोड्न बेलिब्रिज निर्माण गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यहाँ निर्माणाधिन पक्कीपुललाई निरन्तरता दिएर हुम्लालाई मात्र नभएर देशलाई समृद्धिको बाटोतर्फ डोर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । अप्ठयारो ठाउँमा ढलान गरेर भए पनि सडक स्तरोन्नति गर्दैलैजाने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले छिमेकी मुलुक चीनसँग जोडिएको हिल्सा नाकामा क्वारेन्टाइन निर्माण गरिने प्रतिवद्धता जनाएका छन् । प्रधानमन्त्री ओलीलेले यहाँ व्यापार व्यवसायको ठूलो सम्भावना भएको उल्लेख गर्दै छिमेकी मुलुकसँग व्यापार व्यवसाय गर्न पनि क्वारेन्टाइन तत्काल स्थापना गर्न आवश्यक भएको बताएका छन् ।

 

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको कर्णाली कोरिडोरअन्तर्गत खार्पुनाथ–५ चुवाखोलामा यही असार १० गते नै बेलिब्रिज निर्माण सम्पन्न गरिएको नेपाली सेनाले जनाएको छ । यसले कर्णालीलाई उत्तर र दक्षिण अन्तरदेशीय सडक सञ्जालसँग जोड्ने छ ।

 

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ९ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।