३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


क्रिप्टो कारोबारमा संलग्न दुई भारतीय नागरिक ललितपुरबाट पक्राउ



काठमाडौं । नेपालमा गैरकानुनी रूपमा १ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको क्रिप्टो  र हुण्डी कारोबारमा संलग्न दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सोमबार ललितपुर महानगरपालिका–२, सानेपास्थित कालोपुल क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा भारतको बिहार राज्य, मोतिहारी निवासी ४३ वर्षीय रुपेश कुमार गुप्ता र पूर्वी चम्पारण, बिजबानी निवासी २२ वर्षीय बिपिन कुमार रहेका छन्।

सीआईबीका अनुसार, उनीहरूले ‘राजतिर्थ ट्रेडर्स’ नामक किराना पसलको आडमा ठूलो परिमाणमा हुण्डी तथा डिजिटल मुद्रा कारोबार गर्दै आएका थिए। गोप्य सूचनाको आधारमा गरिएको छापामारीपछि प्रहरीले उनीहरूको आपराधिक संलग्नता पत्ता लगाएको हो।

पक्राउपछि प्रहरीले उनीहरूको साथबाट ८ लाख २० हजार नेपाली रुपैयाँ, १० हजार भारतीय रुपैयाँ, एक थान सीसीटीभी डिभिआर र संरक्षित वन्यजन्तु कस्तुरीको अङ्ग समेत बरामद गरेको छ। प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार प्रारम्भिक अनुसन्धानमा डेढ अर्बभन्दा बढीको क्रिप्टो कारोबार भएको पुष्टि भइसकेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको उनले जानकारी दिएका छन्।

नेपालमा क्रिप्टो करेन्सी र हुण्डी कारोबार गैरकानुनी रहेको छ। मनी लन्डरिङ, विदेशी मुद्रा कारोबार ऐन र वन्यजन्तु संरक्षण ऐनअनुसार यस्ता घटनामा संलग्नलाई कानुनी कारवाही गरिने बताइएको छ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ६ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।