२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुर नगरकोट सडक चाँगुनारायण नगरपालिकाको आफ्नै श्रोतमा निर्माण



शैलुङ कन्स्ट्रक्सन र भारतीय कम्पनी अराभली इन्फ्रापावर लिमिटेडले संयुक्त रुपमा निर्माण गर्ने सम्झौता थियो, तर काम हुनसकेन

भक्तपुर

चाँगुनारायण नगरपालिकाले आफ्नै श्रोतमा भक्तपुर नगरकोट सडक स्तरोन्नति एवं कालोपत्र गरेको छ ।

विगत १२ वर्षदेखि जीर्ण रहेको उक्त सडकखण्ड चाँगुनारायण नगरपालिकाले आफ्नै आन्तरिक स्रोतबाट बजेट व्यवस्थापन गर्दै एक महिनादेखि कार्य सुरु गरेको थियो ।

नगरप्रमुख जीवन खत्रीले गत वैशाखदेखि सुरु गरिएको ‘नगरकोट भ्रमण वर्ष–२०८२’ लाई लक्षित गर्दै नगरपालिकाले आन्तरिक स्रोतबाट सडक स्तरोन्नति एवं कालोपत्रकार्य सुरु गरेको बताएका छन् ।

शारदा कन्स्ट्रक्सनले विगत १२ वर्षदेखि ठेक्का लिएर काम नगरेपछि सरकारले ठेक्का रद्ध गरेलगत्तै नगरपालिकाले रु १७ करोडको बोलपत्र आह्वान गरी काम सुरु गरेको उनले जानकारी दिएका छन् । “यो सडक एक्जिम बैंक इन्डियाको ऋण सहयोगमा नेपाल सरकारसँग २०७३ असार ३ गतेसम्म सम्पन्न गर्ने गरी २०७१ जेठ २२ गते सम्झौता भएको थियो । शैलुङ कन्स्ट्रक्सन र भारतीय कम्पनी अराभली इन्फ्रापावर लिमिटेडले संयुक्त रुपमा निर्माण गर्ने सम्झौता थियो, तर काम हुनसकेन”, मेयर खत्रीले भने ।

सम्झौता गरेको ११ वर्षमा १०आँै पटक म्याद थप गरेर लागत बढाउदै रु ३३ करोड पुर्‍याउँदा पनि विभिन्न बाहना गर्दै सडक निर्माण सम्पन्न नगरेपछि गत पुस अन्तिम साता सडक सुधार तथा विकास परियोजना निर्देशनालयले ठेक्का सम्झौता रद्ध गरेको थियो ।

भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य सडकमार्गको रूपमा रहेको भक्तपुर–नगरकोट १५ किलोमिटर सडकखण्ड कालोपत्र कार्य अन्तिम चरणमा पुगेको छ ।

 

“चाँगुनारायण नगरपालिकाले आयोजना गर्ने नगरकोट भ्रमण वर्ष नगरकोटको मात्रै नभइ सिङ्गो देशको महोत्सव हो, यही सडकका कारणले महोत्सवमा समस्या आउन दिनुहुँदैन । त्यसैले नगरपालिकाले प्रतिबद्धताअनुसार काम गरेका हौँ”, उनले भने,“अब एक सातामा कालोपत्र सम्पन्न हुन्छ । सोहीअनुसार हामी सबै आआफ्नो जिम्मेवारी अनुसार काममा खटिरहेका छौँ ।”

सडकको पेटी बनाउने, ड्रेन बनाउनेलगायतका काम भने केन्द्रीय सरकारले गर्नेगरी मौखिक सहमतिपछि नै नगरपालिकाले कालोपत्रका लागि ठेक्का सम्झौता गरेर काम सुरु गरेको नगरपालिकाले जनाएको छ ।
सडक पुनःनिर्माण एवं स्तरोन्नतिको प्रगति र अवस्थाबारे आज नगरप्रमुख खत्रीसहितको टोलीले अवलोकन एवं अनुगमन गरेको छ ।

 

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  १२ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।