काठमाडौं । सङ्घीय संसद् भवन नजिकै ड्रोन खसालिएको घटनासँग सम्बन्धित भन्दै पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार पक्राउ पर्नेमा टेकस्पायर कलेजका कोर्स को–अर्डिनेटर विजयबाबु रेग्मी र सोही कलेजका विद्यार्थीहरू समन महर्जन, सुजल काजी श्रेष्ठ, समिप खतिवडा र अफ्ताव रेजा रहेका छन्।
उनीहरूलाई ड्रोन उडान निषेधित क्षेत्रभित्र ड्रोन सञ्चालन गरेको आरोपमा नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराइएको प्रहरीले जानकारी दिएको छ।
घटना यही असार २४ गते बिहान ९ः३० बजे भएको हो। संघीय संसद् भवनको दक्षिणतर्फको छतमा एक थान ड्रोन फेला परेको थियो। प्रारम्भिक अनुसन्धानमा उक्त ड्रोन टेकस्पायर कलेजको परिसरबाट उडाइएको पुष्टि भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, सो ड्रोन शैक्षिक उद्देश्यका लागि निर्माण गरी परीक्षण गरिएको बुझिएको छ। कलेजका प्रधानाध्यापक लक्ष्मण पोख्रेलले प्राध्यापक र विद्यार्थीहरूलाई सेमेस्टर कार्यको रूपमा ड्रोन निर्माण तथा परीक्षण गर्न लिखित रूपमा निर्देशन दिएको जानकारी प्रहरीलाई प्राप्त भएको छ।








प्रतिक्रिया