धरान, सुनसरी
समयमै वर्षा नहुँदा यहाँका किसानले राखेको धान ब्याडमै सुक्न थालेको छ । असार बित्नै लाग्दासमेत पर्याप्त पानी नपर्दा र सिँचाइ सुविधा अभावले धान रोपाइँ हुन नसकेको हो ।
आकाशे पानीको भरमा रहेका बराहक्षेत्र नगरपालिका–६ श्रीलङ्का टापु चिलैया र गरैया क्षेत्रका किसानले रोपेको धानको रोपो नै सुक्न थालेको छ । स्थानीय कृषक सन्तोष चन्द्रवंशीका अनुसार चाहिएको बेला पानी नपर्दा किसान आकाश हेरेर बसेका छन् भने धानको रोपो सुक्न थालेको छ ।
वराहक्षेत्र नगरपालिकाले श्रीलङ्का टापुका किसानलाई ४३ थान विद्युतीय मोटर, ६० थान डेलिभरी पाइप र १५५ थान त्रिपाल अनुदानमा वितरण गरेको छ ।
रामधुनी नगरपालिकाका किसान रामभुवन राय आफूले दुई बिघाहमा रोपाइँ गर्दै आएकोमा अहिलेसम्म आधा खेतमा पनि रोपाइँ गर्न नसकेको बताउछन् । वर्षामा भर पर्ने उनीहरुजस्ता किसानलाई यही अवस्था रहिरहेमा धान बाली नै गुम्ने खतरा रहेको उनको भनाइ छ ।
कोशी गाउँपालिका–७ की किसान सरस्वती मियाँ जेठमै ब्याड तयार पारे पनि पानी नपरेपछि सुक्न थालेको बताउछिन् । धरान उपमहानगरपालिका–६ का किसान बुद्धिमान तामाङका अनुसार कुलोमा पानी नआएपछि रोपाइँ गर्न सकिएको छैन । “पोहोर साल यही समयसम्म रोपाइँ सकिएको थियो, तर यसपाली तीन भागमा एक भाग पनि रोपाइँ सकिएको छैन”, तामाङले भन्दै गुनासो गर्दछन् ।
सुनसरीमा हाल ४८ हजार ९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको छ । कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख निल कमल सिंहका अनुसार, गत वर्ष असारको अन्त्यसम्म जिल्लामा करिब ५० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । तर यस वर्ष सोही अवधिमा ३२ प्रतिशत मात्र रोपाइ भएको छ ।
किसानले समयमै सिँचाइको व्यवस्थाका साथै मल, बिउ र अन्य कृषि उपकरणमा अनुदान माग गरिरहेका छन् । केही किसानले निजी स्रोतबाट सिँचाइको व्यवस्था मिलाउने प्रयास गरे पनि सबैका लागि त्यो सम्भव नहुने भन्दै सरकारी तहबाट राहतको माग गरेका हुन् ।








प्रतिक्रिया