काठमाडौं । लगातारको वर्षासँगै काभ्रेका तीन स्थानमा पहिरो खसेपछि बीपी राजमार्ग रातिदेखि नै पूर्ण रुपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार रोसी गाउँपालिका–११ स्थित माम्ती खोला, रोसी–९ कै पिन्थली र बिरुवाडाँडामा पहिरो खसेर राजमार्ग दुईतर्फी रुपमा अवरुद्ध बनेको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी मिनबहादुर घलेका अनुसार गएराति १० बजेतिर माम्ती खण्डमा सडक माथिबाट भेल आएर सडक कटान गरेपछि यातायात पूर्णरूपमा ठप्प भएको हो। त्यसपछि राति साढे ११ बजेतिर पिन्थली र बिरुवाडाँडामा पनि खहरे खोलाको लेदो तथा माटोसहितको पहिरो खस्दा बाटो बन्द भएको हो।
सडक खुलाउने कार्यमा मंगलटारबाट खटिएका प्रहरी टोली र सडक डिभिजनका प्राविधिक टोली खटिएका छन्। यात्रुहरुलाई कुनै अप्ठ्यारो परेमा जिल्ला प्रहरी कार्यालय काभ्रेका मोबाइल नम्बरहरू ९८५१२८४३७६, ९८५११२३८०५, ९८५१२८५४०० र ९८५१२३७३३९ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।
गत वर्ष असोज १२ गतेको बाढीले क्षतविक्षत बनाएको बीपी राजमार्ग यस वर्ष पनि वर्खा सुरु भएदेखि नै पटक–पटक अवरुद्ध हुने गरेको छ।
सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार धुलिखेलदेखि सिन्धुलीको डालाबेशीसम्मका खण्डमा पहिरो हटाउनका लागि जेसिबी, लोडर, ग्रेडर, ट्रिपरलगायत २१ वटा उपकरण तयारी अवस्थामा राखिएको छ।
प्रहरी र सडक विभागको सहकार्यमा अवरुद्ध सडक खुलाउने कार्य तीव्र गतिमा भइरहेको छ। यात्रुहरुलाई वैकल्पिक मार्गको प्रयोग गर्न र आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।








प्रतिक्रिया