काठमाडौं । काभ्रेको मण्डनदेउपुर नगरपालिका–७ कुन्तास्थित दुई होटलबाट अनलाइन सट्टेबाजीमा संलग्न पाँच जना पक्राउ परेका छन्। पक्राउ परेकाहरूबाट प्रहरीले १८ थान मोबाइल फोन, ५ थान ल्यापटपसहित विभिन्न सट्टेबाजी सामग्री बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय, धुलिखेलबाट खटिएको टोलीले साउन ३० गते दिउँसो छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा भक्तपुर र काठमाडौंका पाँच युवा रहेका छन्।
पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–८ इमाटोलका ३२ वर्षीय दिगज नकर्मी, भक्तपुर–४ कमलबिनायकका २८ वर्षीय संजीव कुशी र २४ वर्षीय रोशन प्रजापति, सूर्यविनायक–७ कटुन्जेका २९ वर्षीय एलिस कुश्म तथा काठमाडौं महानगरपालिका–१६ शान्तीनगरका ३१ वर्षीय रोजन महर्जन रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले मण्डनदेउपुरको नालदूम भिलेज रिसोर्ट र ग्रीन पिस रेस्टुरेन्टको कोठा भाडामा लिएर अनलाइन एप्स र वेबसाइटमार्फत सट्टेबाजीमा संलग्न खेलाडी व्यवस्थापन गर्ने कार्य गरिरहेका थिए।
जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहका अनुसार, घटनास्थलबाट प्राप्त सामग्रीहरू हेर्दा करोडौंको कारोबार भएको अनुमान गरिएको छ। अनुसन्धान पश्चात सट्टेबाजी र आर्थिक कारोबारको सञ्जाल खुल्ने अपेक्षा गरिएको छ। पक्राउ परेकाहरू र बरामद सामग्रीसहितको फोटोसमेत प्रहरीले सार्वजनिक गरिसकेको छ।
प्रहरीले अनलाइनमार्फत जुवा तथा सट्टेबाजीमा संलग्न हुनेहरूविरुद्ध निगरानी बढाइएको जनाएको छ।








प्रतिक्रिया