काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरु’ को टिजरले छोटो समयमै १२ लाखभन्दा बढी भ्युज पाइसकेको छ र दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।
टिजरमा अभिनेता विजय बरालको अभिनयलाई विशेष रूपमा प्रशंसा गरिएको छ भने कोरियाको कथा र युवाहरूको आर्थिक सङ्कटलाई उठान गरेको विषयवस्तुलाई मन पराइएको छ। निर्देशक हिमाल न्यौपानेले भने, “टिजरले मन छोएको प्रतिक्रिया पाएपछि निर्माण टिम उत्साहित छ। अब सिनेमा पनि त्यही स्तरमा आउनुपर्ने चुनौती हामीमाथि छ।”
उनका अनुसार, ‘कतार, दुबई, मलेसिया’ जस्ता कथाहरू चलिरहेको बेला कोरियाको कथा प्रस्तुत गर्नु नयाँ अनुभव हो र यसले दर्शकहरूलाई उत्साहित बनाएको छ।
फिल्ममा विजय बरालसँगै केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटा, रेयर राई लगायतका कलाकारको अभिनय रहेको छ। ‘प्रेमगीत ३’ का अभिनेता मनिष राउत यस फिल्मका एसोसिएट निर्देशक हुन्।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् भने कार्यकारी निर्माता नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन्। कथाकार तथा पटकथा लेखक भानुभक्त ढकाल हुन्।
यो फिल्म विजय बरालको ‘पूर्णबहादुरको सारंगी’ पछि मुख्य भूमिकामा आएको पहिलो चलचित्र हुनेछ।








प्रतिक्रिया