काठमाडौं
काठमाडौंको गोगब’स्थित ल्होत्से मलमा ६० फिट अग्लो र १६ फिट चौडाइको विशाल पोस्टर सार्वजनिकसँगै चलचित्र ‘बलिदान’ को प्रचार अभियान सुरु गरिएको छ ।
पोस्टरमा रगतले लतपतिएका, घाइते र क्रुद्ध मुद्रामा देखिएका अभिनेता समीर भट्ट एक विशालकाय मानव आकृतिमाथि भालाजस्तो देखिने अस्त्र प्रयोग गर्दै आक्रामक रूपमा प्रस्तुत छन् । समीरको अनुहारमा आक्रोश, हिम्मत र बलिदानको भावना झल्किन्छ । आकाशमा कालो बादल, जमिनमा अन्धकार र पृष्ठभूमिमा आगोको रापले यो पोस्टरलाई अझ प्रतीकात्मक र सिनेम्याटिक बनाएको छ ।
चलचित्रका निर्देशक सन्तोष सेनले यो चलचित्र एउटा सिनेम्याटिक क्रान्तिको सुरुवात रहेको बताएका छन्। उनले भनेका छन्, ‘विभिन्न चरणको छायाङ्कन, सम्पादन र सृजनात्मक परिश्रमपछि अब गर्वका साथ भन्न सक्छौँ, बलिदान केवल चलचित्र होइन, यो एउटा अभियान बनिसकेको छ ।’
उनका अनुसार चलचित्रलाई गाउँ–सहर, टोल–बस्ती हुँदै हरेक दर्शकको मनसम्म र्पुयाउने लक्ष्य लिएको उल्लेख गर्दै ‘बलिदान ब्यानर’ मार्फत देशव्यापी प्रचार–प्रसार यात्रा सुरु गरिएको छ ।
यसअघि अभिनेता सौगात मल्ल रहस्यमय अवतारमा रहेको पोस्टर सार्वजनिक गरिएको थियो भने अभिनेता समीर भट्टको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको प्रि–टिजरले निकै चर्चा पाएको थियो ।
‘आसुसेन फिल्म्स् प्रा।लि।’को प्रस्तुति रहेको ‘बलिदान’मा समीर भट्ट, सौगात मल्ल, कविता रायसँगै अर्पण थापा, ऋचा शर्मा, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारहरूको अभिनय रहेको छ। चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने कार्यकारी निर्माता प्रेम पुरी हुन्।
वडा दसैँको फूलपातीबाट देशभर प्रर्दशन गर्ने निर्माण पक्षको तयारीमा रहेको छ ।








प्रतिक्रिया