काठमाडौं । गायिका एलिनासँगको सम्बन्धविच्छेदपछि सामाजिक संजालमा बढ्दो आलोचना, धम्की र चरित्र हत्या गर्ने प्रयासले आफू मानसिक रूपमा पीडित बनेको भन्दै पूर्वश्रीमान विष्णु सापकोटाले गुनासो गरेका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत लामो विज्ञप्ति सार्वजनिक गर्दै उनले सहमतिमा भएको सम्बन्धविच्छेदलाई लिएर पछिल्लो समय सामाजिक सञ्जालमा व्यापक रुपमा भइरहेको भ्रामक प्रचार र टिकटक भिडियोहरूले आफ्नो व्यक्तिगत तथा सामाजिक प्रतिष्ठामा गम्भीर असर परेको उल्लेख गरेका छन्।
“अलग बसेको लगभग १ वर्ष र सम्बन्धविच्छेद भएको ६ महिना कटिसक्दा पनि केही व्यक्तिले पुराना विषयहरू सामाजिक संजालमा ल्याउन थालेका छन्, जसले मेरो व्यक्तिगत जीवन, परिवार र व्यवसायिक वातावरणमा नकारात्मक असर पुर्याइरहेको छ,” सापकोटाले लेखेका छन्।
उनका अनुसार सहमति र अदालतको फैसलासमेतपछि विषय समाप्त भइसकेको भए पनि त्यसलाई पुनः चर्चा गर्नु अदालतको अपमान हो। उनले सामाजिक संजालमा भइरहेका गतिविधिका कारण आफू अस्ट्रेलियामा व्यवसायिक रूपमा समेत क्षति व्यहोर्न बाध्य भएको बताए।
“कानुन सबैको लागि हुन्छ र न्यायको सहि मार्ग पनि त्यही हो,” भन्दै उनले अस्ट्रेलियामा मानहानी र व्यवसायिक नोक्सानीको क्षतिपूर्ति माग गर्दै कानूनी प्रक्रिया अघि बढाइसकेको जानकारी गराएका छन्।
उनले आफ्नो मौनतालाई कमजोरीको रूपमा नबुझ्न पनि आग्रह गर्दै भनेका छन्, “अहिले दुबैका आ–आफ्ना व्यक्तिगत, पारिवारिक र व्यवसायिक जीवन छ। कहिलेसम्म यसको सिकार हुनुपर्ने हो हामी?”
सापकोटाले हाल नेपाल र अस्ट्रेलियामा कानूनी परामर्श लिइरहेकोसमेत उल्लेख गरेका छन्। उनका अनुसार सामाजिक सञ्जालमा सीमितता नहुने हो भने कानूनी बाटोबाट मात्रै न्याय खोज्न बाध्य हुनेछन्।








प्रतिक्रिया