काठमाडौं । चर्चित गायिका एलिना चौहानले सामाजिक सञ्जालमार्फत एक भावुक र स्पष्ट सन्देश दिँदै आफ्नो व्यक्तिगत जीवनबारे भइरहेका टिप्पणी, दवाव र गलत व्याख्याविरुद्ध कडा प्रतिक्रिया दिएकी छिन्।
एलिनाले सामाजिक सञ्जालमा लेखेकी छिन्, “हामीबीचको कुरा त आपसी समझदारीमै त्यही दिन सकिएको थियो। तर समाजकै दवाव, सामाजिक सञ्जालको दुरुपयोग, र सतही धारणाले त्यो सकिएको कुरा फेरि दोहोर्याएर मेरो व्यक्तिगत जीवनमाथि गम्भीर अन्याय गर्यो।”
उनले आफू कानुनी प्रक्रियामा जान बाध्य भएको र चरित्र बचाउन विगत खोल्नुपरेको उल्लेख गर्दै थपेकी छिन्, “माथि प्रश्न उठाइए— ‘किन अहिले?’, ‘किन फेरि?’ तर मलाई थाहा छ— यो देश अझै पनि पुरुषप्रधान सोचमा जकडिएको छ।”
एलिनाको भनाइ अनुसार यो लडाइँ व्यक्तिगत होइन, सामाजिक सोचविरुद्धको हो। उनले भनिन्, “यो लडाइँ हो— त्यस मानसिकतासँग, जसले सत्य बोल्ने नारीलाई नै दोषी बनाउँछ, पीडितलाई नै कठघरामा उभ्याउँछ।”
गायिका चौहानले अब चुप नबस्ने स्पष्ट सन्देश दिँदै भनिन्, “अब यो केवल मेरो न्यायको लडाइँ होइन, यो हरेक नेपाली चेलीको आवाज हो। म हरेक कानुनी, सामाजिक र नैतिक बाटो अपनाएर न्यायका लागि अगाडि बढ्नेछु। किनकि म एक्लो भए पनि, सत्य मेरो साथमा छ।”








प्रतिक्रिया