काठमाडौं
आजकल देशमा रोजगारीको अभावका कारण खाडी राष्ट्रमा युवाहरुको लस्कर लागेको छ । विदेशी भूमिका पसिना बगाइरहेका युवाहरु बेला बेलामा आतंकवादीको हमलामा समेत पर्छन् । युक्रेन रुसको युद्धमा दर्जनौं युवाहरुले ज्यान गुमाए ।
आजको पुस्ताले भोग्न बाध्य यस्तै कथामा निर्माण गरिएको चलचित्र ‘रियाल रिङ्गेट’को अफिसियल ट्रेलरमा दर्दनाक दृश्य छन् ।
आतंकबादीहरुले भोकभोकै मरुभूमिमा काम गरिरहेका युवाहरुमा लात्ती बजारिएको र गोली हानिएको दृश्य चलचित्रको ट्रेलरमा समेटिएको छ ।
आतङ्कवादीको सामूहिक बन्दी बनाइएका तथा कब्जामा परेका नेपाली कामदारहरूको झल्को दिने चलचित्रको ट्रेलरले बर्षैअघि इराकमा बन्दी बनाइएको १२ नेपालीको डरलाग्दो क्षण सम्झना गराएको छ ।
अभिनेता प्रमोद चौलागाईँले कब्जामा रहेकै बेला नेपालमा पठाएको भिडियो सन्देश टेलिभिजनमा प्रसारण समेत भइरहेको देखिन्छ।
सार्वजनिक ट्रेलरमा नेपाली युवाहरूले अपनाउन बाध्य वैदेशिक रोजगारी र रोजगारीको सिलसिलामा भोग्नुपरेका विभिन्न कठिनाइ देख्न सकिन्छ ।
चलचित्रका निर्देशक विभोर पोखरेलले ‘रियाल रिङ्गेट’लाई हरेक नेपालीको कथा रहेको रहस्य खोल्दै चलचित्रले वैदेशिक रोजगारीमा गएका नेपाली युवायुवतीहरूले भोग्नुपर्ने यथार्थ र उनीहरूको जीवनशैलीलाई नजिकबाट चित्रण गरेको बताउका छन् ।
‘रियाल’ कतार र साउदी अरेबियाको मुद्रा हो भने ‘रिङ्गेट’ मलेसियाको मुद्रालाई मिसाएर चलचित्रको नाम जुराइएको तथ्यबाटचलचित्र वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकहरूको पिडा रहेको तथ्य उजागर गरेको छ ।
चलचित्रमा प्रमोद चौलागाईं र निता ढुङ्गानाका साथै छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
चलचित्रको लेखन प्रदीप भारद्वाज ले गरेका हुन् । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र राजीव समरको कोरियोग्राफी रहेको छ ।
चलचित्र यही साउन १६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।








प्रतिक्रिया