२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा बुद्धचित्त चोरी गर्ने समूहद्वारा खुकुरी प्रहार, तीन जना पक्राउ



ललितपुर । ललितपुरको गोदावरी नगरपालिकामा बुद्धचित्तको दाना चोरी गर्न आएको समूहले घरधनीमाथि खुकुरी प्रहार गरेका छन्।

घटना गए राति सवा २ बजेतिर वडा नम्बर ७ गुरूङचुले गैरीडोलीमा भएको हो। एक समूह सिसिटिभीको तार काटेर घरको आँगनमा रहेको बुद्धचित्तको रूखबाट दाना टिप्न आएको प्रहरीले जनाएको छ।

कुकुर भुकेपछि घरधनी ५५ वर्षीय कृष्णबहादुर मार्फा घरबाहिर निस्किँदा समूहले उनको दायाँ हातमा खुकुरी प्रहार गरेका थिए। उनलाई तत्कालै उपचारका लागि आनन्दवन अस्पताल लगिएको थियो, जहाँ उनको हातमा पाँचवटा टाँका लगाइएको छ। अहिले उनी अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी प्रमुख एसपी चक्रराज जोशीका अनुसार, चोरीपछिको खोजी अभियानमा प्रहरी वृत्त चापागाउँले आइतबार बिहान ५ बजे तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ परेका व्यक्तिहरूमा सिन्धुलीका ३० वर्षीय प्रतिमान गोले, काभ्रेका २६ वर्षीय बुद्ध तामाङ र सिन्धुपाल्चोकका २६ वर्षीय जीवन तामाङ रहेका छन्। उनीहरूबाट प्रहरीले ९९ वटा काँचो बुद्धचित्तको दाना बरामद गरेको छ।

प्रहरीका अनुसार पक्राउ परेकाहरू आपराधिक पृष्ठभूमिका रहेका छन्। प्रतिमान गोले विगतमा मोटरसाइकल चोरीमा संलग्न देखिएका थिए भने बुद्ध तामाङ सुनको चेन लुटपाटमा संलग्न रहेको खुलेको छ।

प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी गरिरहेको छ। यसअघि पनि काभ्रे र अन्य स्थानहरूमा बुद्धचित्त चोरीका घटना भएका थिए।

गत असारमा काभ्रेको बनेपामा पनि बुद्धचित्त चोरी भएको थियो, जसमा ८ लाख रुपैयाँ बराबरको क्षति भएको दाबी गरिएको थियो। त्यस्तै, २०८० चैतमा काभ्रेको नागबेनीमा बन्दुकधारी समूहले बुद्धचित्तको रूख नै ढालेर चोरी गरेका थिए।

प्रहरीले बुद्धचित्त जस्ता बहुमूल्य वनस्पतिको चोरी नियन्त्रणका लागि सतर्कता अपनाउन सर्वसाधारण र स्थानीय तहलाई आग्रह गरेको छ।

 

प्रकाशित मिति : ५ श्रावण २०८२, आइतबार  २ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।