काठमाडौं । आगामी भदौ ६ गते प्रदर्शनमा आउने नेपाली चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को आधिकारिक टिजरले युट्युबमा उत्साहजनक प्रतिक्रिया बटुल्दै ट्रेन्डिङ सूचीको चौथो स्थानमा स्थान बनाएको छ।
गत मंगलबार सार्वजनिक भएको टिजर छोटो समयमै लोकप्रिय बन्दै १३ लाख ६ हजारभन्दा बढी भ्युज र ६ हजार ५ सयभन्दा बढी लाइक्स प्राप्त गरिसकेको छ। सार्वजनिक भएको पहिलो दिनमै १० लाख भ्युज पार गर्दै टिजरले दर्शकको उत्सुकता र सकारात्मक प्रतिक्रियालाई बलियो संकेत दिएको छ।
दर्शकहरूले युट्युब कमेन्टमार्फत टिजरको खुलेर प्रशंसा गरेका छन्। विशेषगरी विजय बरालको दमदार अभिनयले सबैको ध्यान खिचेको छ भने चलचित्रको कथावस्तु – कोरियामा गएर आफ्नो भविष्य बनाउने नेपाली युवाको संघर्ष – दर्शकहरूलाई समसामयिक र मन छुने लागेको छ।
हिमाल न्यौपानेको निर्देशनमा तयार भएको चलचित्रले एक नेपाली युवाको सपना, संघर्ष, सम्बन्ध र पारिवारिक द्वन्द्वको संवेदनशील कथा बोकेको छ। टिजरमा विजय बराल एक पुरोहित बुबाको इच्छाविपरीत कोरिया जाने सपना बोकेर सहर पस्ने युवाको भूमिकामा प्रस्तुत भएका छन्।
चलचित्रमा विजयसँगै केकी अधिकारी र मिरुना मगर पनि मुख्य भूमिकामा छन्। टिजरको प्रस्तुतिबाट चलचित्रमा त्रिकोणात्मक प्रेमको पाटोसमेत देखिन्छ।
‘जनै हराएको मान्छे’ मा गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगरलगायतका कलाकारको पनि अभिनय छ। चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। पेपरक्लिपको ब्यानरमा कमल न्यौपाने र विमल न्यौपानेले चलचित्र निर्माण गरेका हुन्।
कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन्।
चलचित्रमा शाहिल खानले टिजर–ट्रेलर सम्पादन, सुप्रिम पराजुलीले कलर, सुनील क्षेत्रीले कोरियोग्राफी, चुल्ठे काजीले एक्सन निर्देशन गरेका छन्। निर्माण नियन्त्रकमा लक्ष्मणराज पौडेल छन् भने वितरणको जिम्मा गोविन्द शाहीको काफिया फिल्मसले लिएको छ।








प्रतिक्रिया